DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

२२०० वर्ष पुराना संरचना, मन्दिरको भग्नावशेष पनि भेटियो


  • चैत्र २४, २०८१
  • 151 Views
२२०० वर्ष पुराना संरचना, मन्दिरको भग्नावशेष पनि भेटियो image

झापा । २२ सय वर्ष पुरानो संरचना भेटिएको किचकबधमा पुरातत्त्व विभागको टोलीले आठौं चरणको उत्खनन गरेको छ। महाभारतकालीन किंवदन्तीसँग जोडिएको झापाको भद्रपुर नगरपालिका २ र ३ वडामा पर्ने किचकबधमा आठौं चरणको उत्खनन गर्दा १५/७५ र १७/५० मिटर लम्बाइ भवनको भग्नावशेष फेला परेको पुरातत्त्वविद् उद्धव आचार्यले जानकारी दिए।सातौं पटकको उत्खननको क्रममा एउटा भवनको भग्नावशेष फेला परेको थियो। भवनको पूर्ण भग्नावशेष फेला नपरेपछि यस पटकको उत्खननले त्यसलाई पूर्णता दिएको पुरातत्त्वविद् आचार्यले बताए।‘दरबार आकृतिको भवन हेर्दा पाँचै तिर मान्छे बस्ने र भवनको बीचमा एउटा मन्दिर (धार्मिकस्थल) को भग्नावशेष फेला परेको छ,’ पुरातत्त्वविद् आचार्यले भने, ‘उत्खननको क्रममा भेटिएको मन्दिर धेरै महत्त्वपूर्ण हुनुपर्छ, त्यहाँ कुनै मूर्ति वा अन्य सामग्री चाहिँ भेटाइएन।’ मन्दिरको प्रयोजनका लागि बनाइएको र त्यसको अध्ययन आवश्यक रहेको उनले बताए। ‘यो संरचना एउटा आवासीयस्थल पनि हो,’ उनले थपे।

पुरातत्त्व विभागले किचकबधमा उत्खननको क्रममा फेला परेका इँटालगायत अन्य सामग्रीहरूलाई वैज्ञानिक परीक्षणका लागि २०७७ सालमा बेलायत पठाएको थियो। ल्याब रिपोर्टअनुसार त्यहाँ भेट्टाएका संरचना २२ सय वर्ष पुरानो भनेर पुष्टि भएर आएको आचार्यको भनाइ छ।यस पटक उत्खनन गरिएको भवनदेखि उत्तरतर्फ पनि एउटा भवनको भग्नावशेष छ। त्यहाँ उत्खनन गर्दा महत्त्वपूर्ण सामग्रीहरू (बाँण, भाला, ढुंगाका भाँडाकुँडा, माटाका मूर्तिहरू र इँटा) फेला परेको उनले बताए। ‘यहाँ उत्खनन गर्नुपर्ने धेरै ठाउँ छ। विभागले चार हप्ताका लागि पठाउँछ। अन्य ठाउँहरू जस्तै कम्तीमा तीन महिना लगातार उत्खननका गर्न पाए धेरै उपलब्धि प्राप्त हुने थियो,’ उनले भने।त्यो भवनको उत्खनन पनि बाँकी नै छैन। त्यहाँ एउटा टहरा घर, किचकबधको पुरानो मूर्ति र दुई वटा पीपलको अग्लो रुख रहेकोले उत्खनन हुन सकेको छैन। त्यस ठाउँमा उत्खनन गरिएमा महत्त्वपूर्ण पुरातात्त्विक सामग्री फेला पर्न सक्ने प्रबल सम्भावना रहेको पुरातत्त्व अधिकृत नवीन अधिकारीले बताए।

विभागबाट आएको चार सदस्यीय टोलीले किचकबधमा उत्खनन तथा संरक्षणको काम सम्पन्न गरेको उनको भनाइ छ। पुरातत्त्वविद् आचार्यकै नेतृत्वमा २०५८ सालमा पहिलोपटक किचकबधमा उत्खनन गरिएको थियो। पहिलोपटक उत्खनन गर्दा स्वस्तिक चिह्न भएको माटाको इँटा फेला परेको थियो। २०५९ र २०६० सालमा पनि उत्खनन गरिएको थियो। त्यसपछि द्वन्द्वको कारणले उत्खनन रोकिएको थियो। २०६६ देखि २०७२ सालसम्म फेरि उत्खनन गरिएको थियो। त्यसपछि २०८० र २०८१ मा आएर उत्खनन गरिएको हो।त्यस अवधिको उत्खननको क्रममा धेरै पुरातात्त्विक सामग्री फेला परेको र तिनीहरूको कार्बन परीक्षणबाट यो स्थल ईशापूर्व भारतमा शुंग–कुषाणकाल र नेपालमा किराँतहरूको शासन अर्थात् १ सय २० देखि २०० ईशापूर्वको अर्थात् आजभन्दा २२ सय वर्ष पुरानो पुष्टि भएको पुरातत्त्वविद् आचार्यले बताए।

ऐतिहासिक किचकबध, धार्मिक तथा पर्यटकीयस्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले राज्य पक्षले उदासीनता देखाउँदा किचकबध स्थल लथालिङ बन्दै गएको गुनासो पोखे। किचकबधको संरक्षण र प्रवद्र्धनको लागि संघीय तथा प्रदेश सरकारले चासो देखाउनु पर्ने बताउँदै सचिव कोइरालाले भने, ‘अहिलेसम्म उत्खननबाट फेला परेका पुरातात्त्विक सामग्रीहरू विभागबाट ल्याउनका लागि यहाँ एउटा संग्रहालय बनाउन संघीय सरकारसँग एक करोड बजेट माग गरेका छौं।’अब प्रदेश सरकारसँग पनि बजेट माग गरिने उनले बताए। अहिले परिसरभित्र रहेका रुखहरू कटान गरी त्यहाँ बगैंचा बनाउने र पर्यटकहरूका लागि तीन वटा कटेज बनाउने गृहकार्यमा समिति जुटिरहेको उनको भनाइ छ। समितिसँग आन्तरिक आयस्रोत केही नभएकोले किचकबधको व्यवस्थामा चुनौती थपिएको उनले बताए।

महाभारतकालीन किंवदन्तीअनुसार विराट राजाका सालो किचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्याएर मारेको किंवदन्ती छ। सोही कथावस्तुलाई आधार मानेर यस ठाउँका नाम किचकबध नामकरण गरी किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल राखिएको हो। प्रत्येक वर्ष माघे शुल्क पूर्णिमा अर्थात् स्वस्थानी व्रतका दिन यहाँ किचकबध धार्मिक मेलासमेत लाग्दै आएको छ।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.