काठमाडौँ, २९ असाेज । मलेसिया रोजगारीमा जाने नेपाली कामदारसँग बढी रकम असुलेर सिन्डिकेट सञ्चालन गरेको आरोपमा नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कासहित रविन्द्र केसी, प्रविण तिवारी र रामपुकार तिवारीलाई काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो ।
मलेसिया रोजगारीमा जाने कामदारको जैविक विवरण सङ्कलन गर्ने प्रक्रियामा संलग्न व्यवसायीहरूले कामदारसँग बढी रकम असुल्ने गरेको आरोपमा सीआईबीले उनीहरूमाथि अनुसन्धान गर्दै आएको थियो ।
पक्राउ परेका चारै जनामाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । आरोप प्रमाणित भइसकेको भने छैन ।
