एजेन्सी, २९ असाेज । पाकिस्तानको उत्तरपश्चिमी सहर पेशावरमा निजी विद्यालयको छाना खस्दा ३४ जनाको ज्यान गएको छ । घटनामा ३३ बालबालिका र एक शिक्षकको मृत्यु भएको बीबीसीले जनाएको छ ।
पेशावरस्थित ‘अल–खैर’ विद्यालयको छाना आज बिहान खसेको हो । दुर्घटनामा कम्तीमा १९ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमले जानकारी दिनुभएको छ ।
अस्पतालका अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये अधिकांश बालबालिका १३ वर्षभन्दा कम उमेरका छन् । घटनापछि प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ । उक्त विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालन हुँदै आएको थियो ।
प्रारम्भिक अनुसन्धानमा विद्यालय भवनको संरचना कमजोर रहेको पाइएको छ । घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ ।खैबर पख्तुनख्वा प्रान्तका गभर्नर फसल करिम कुन्डीले शिक्षा सल्लाहकारलाई घटनाबारे विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको छ ।
उहाँले घाइते बालबालिकाले सम्भव भएसम्म राम्रो उपचार पाउने व्यवस्था मिलाउन पनि सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ । यसैबीच, पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले घटनाले सिंगो देशलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
