काठमाडौँ, ३० असाेज । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि देशभरका शिक्षण संस्थामा ९ हजार ६९१ सिट निर्धारण गरेको छ । गत वर्षको तुलनामा यस वर्ष ४१८ सिट थप गरिएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको बैठकले सिट सङ्ख्या बढाउने निर्णय गरेको हो । यस वर्ष थपिएका सिटको लाभ सरकारी तथा सार्वजनिक शिक्षण संस्थाले मात्र पाएका छन् । निजी मेडिकल कलेजको सिट सङ्ख्यामा भने वृद्धि गरिएको छैन ।
आयोगका अनुसार ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए । अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा ८४ वटा संस्थालाई मात्र सिट स्वीकृत गरिएको छ । एमबीबीएसतर्फ गत वर्षको तुलनामा ११० सिट थपिएको छ । नवगठित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० सिट पाएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा ३०–३० सिट थप गरिएको छ । निजी मेडिकल कलेजमा भने एमबीबीएसको सिट सङ्ख्या यथावत् राखिएको छ ।
त्यस्तै, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ सिट वृद्धि गरिएको छ । यी तीन विषयमा थपिएका सिटको कुल सङ्ख्या ४१८ पुगेको छ । सरकारी तथा सार्वजनिक शिक्षण संस्थामा सिट थपिएसँगै चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अवसर विस्तार हुने अपेक्षा गरिएको छ । विशेषगरी विपन्न तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति र सुलभ शुल्कमा अध्ययन गर्ने अवसर पाउन सक्ने अपेक्षा गरिएको छ ।
