मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ,  १९ जेठ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा सोमबार मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले मुलुकभर मनसुनपूर्व विपद् व्यवस्थापन र उद्धार तयारीका विषयमा गम्भीर छलफल गरिएको थियो।

गृहमन्त्री लेखकले अहिले मनसुन सुरु हुने समय भएकाले सुरक्षा निकाय, स्थानीय तह र प्रदेश सरकारबीच प्रभावकारी समन्वय गर्दै विपद् उद्धारका कार्यमा तत्काल परिचालन हुनसक्ने तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए।

उनले भने, “विपद्को समयमा सूचना प्रवाह, जनशक्ति परिचालन र उद्धार प्रक्रिया ढिलाइ हुन नदिन पूर्व तयारी र समन्वय अत्यन्त आवश्यक छ।”

गृहमन्त्रीले यस वर्ष मनसुनमा भारी वर्षाको सम्भावना रहेको भन्दै विगतका घटनाबाट सिकेर योजना निर्माण गरी अघि बढ्नुपर्ने बताए। उनले सशस्त्र प्रहरी बल नेपालका सबै युनिटहरूमा उपयुक्त उद्धार सामग्री र जनशक्ति तयारी अवस्थामा राख्न स्पष्ट निर्देशन दिए। “जोखिम न्यूनीकरण र नागरिकको जिउधनको सुरक्षा अबको मनसुनमा सरकारको प्रमुख प्राथमिकता हो,” उनले भने।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका निमित्त संगठन प्रमुख अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले बलले तयार पारेको ‘मनसुन प्रतिकार्य योजना २०८२’ सार्वजनिक गर्दै विगतका अनुभवलाई आधार बनाएर पूर्व तयारी थालिएको जानकारी दिए।

उनका अनुसार,

  • ८ वटा बाहिनी मुख्यालय

  • २ वटा तालिम शिक्षालय

  • १ गण, ९ वटा वेश, र २ वटा रेस्क्यु टावर
    मा उच्चस्तरीय उद्धार सामग्रीसहित सुरक्षा फौज परिचालनमा राखिएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार,

  • २,४८१ जना विपद् व्यवस्थापन प्रशिक्षित जनशक्ति

  • १२८ जना गोताखोर
    विशेष उद्धार सामाग्रीसहित सातै प्रदेशमा परिचालित भइसकेका छन्।

गृह मन्त्रालयको तयारीमा जोड

कार्यक्रममा गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यले विपद्को समयमा सबै निकायबीच समन्वय र सहकार्य अनिवार्य रहेको भन्दै सशस्त्र प्रहरी बल नेपालको भूमिका “निर्णायक र विश्वसनीय” हुने बताए।

कार्यक्रममा देशभरका सशस्त्र प्रहरी बलका क्षेत्रीय प्रमुखहरूले पनि आ–आफ्नो प्रदेशको विपद् पूर्व तयारीको अवस्थाबारे गृहमन्त्री समक्ष जानकारी गराएका थिए।

Mohotsav


Thali Mobile Pvt.Ltd.