भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ ।

गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताए । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । “पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन”, उनले भने, “दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सकेमा बसाइ लम्ब्याउन सकिन्छ ।”

गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुुर्जा गाउँको शिरमा भिरालो पाखोमा तास्नाधुरी अवस्थित छ । तास्नावरपरको पाखामा वसन्तयाममा गुराँस र बर्खामा बुकी फुलेर रङ्गिन्छ । तास्नाको बुकीपाटन घरपालुवा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्ने चरन खर्क हो । हालै गुर्जा घुमेर आएका बेनीका नारायण शर्माले हिमाल हेर्दै हाइकिङ गरेर तास्नाधुरी पुग्दा उकालो यात्राको थकान भुलाएको अनुभव सुनाए ।

डाँडामा बसेर पृष्ठभूमिमा हिमाललाई नजिकबाट नियाल्न पाउँदा मन प्रफुल्ल भएको उनले बताए । प्रकृतिसँग रमाउन तास्नाधुरी उपयुक्त गन्तव्य भएको शर्माको अनुभव छ । गुर्जामा पाहुनाको बसाइ लम्ब्याउन तास्नाधुरीलाई सहायक गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ । वडाध्यक्ष झक छन्त्यालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट गुर्जाको नाइलीबारीबाट तास्नाधुरी जोड्ने पदमार्ग निर्माण गरिएको बताए ।

बीस जना बेरोजगार युवायुवती परिचालन गरेर तीन किलोमिटर पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ । गोठला र स्थानीयवासीले घाँस, दाउरा गर्न तास्नाधुरी जावतजावत गर्न प्रयोग गरेको परम्परागत बाटोलाई स्तरोन्नति गरेर पदमार्ग बनाइएको हो । माटो काट्ने र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पदमार्ग बनेपछि भिर र पाखोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने तथा बाटो बिराउने समस्या हटेको छ, यात्रा सुरक्षित भएको छ ।

बिचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा, चुरेन हिमालको आधार, डोल्पा र पूर्वीरुकुम जान सकिन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.