काठमाडौं । राष्ट्रियसभामा निर्वाचित १९ सदस्यहरुको सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहण ग्रहण हुँदैछ ।
गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलहरुले चुनावी तालमेल गरेका थिए । उक्त निर्वाचनमा गठबन्धनको नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए ।
गठबन्धनको नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए भने माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसैगरी गठबन्धनकै एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) निर्वाचित भएका थिए भने जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका थिए ।
निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा निर्वाचिन भएका थिए । यता, रिक्त २० सिट मध्ये सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी रहेको बताइएको छ ।
