भर्खरै : Sorry, your browser does not support inline SVG.

वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो

वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढेको छ । निर्यात व्यापारले पहिलोपटक एक खर्ब रुपैयाँको आँकडा पार गर्दा आयात र व्यापार घाटासमेत बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोज मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब रुपैयाँ रहेको थियो ।समीक्षा अवधिमा नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् ।

यो गत वर्षको सोही अवधिको तुलनामा ५७.३ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यातले पहिलोपटक एक खर्ब रुपैयाँको सीमा पार गरेको हो । निर्यातमा वनस्पति तेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ । यस्तै, वस्तु आयात ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । निर्यातको तुलनामा आयात निकै बढी हुँदा नेपालको व्यापार घाटा पनि बढेको छ ।

तथ्याङ्कअनुसार पहिलो तीन महिनामा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८४.९८ प्रतिशत रहेको छ । यसले नेपालको वैदेशिक व्यापारमा आयातको निर्भरता अझै उच्च रहेको देखाउँछ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग भएको छ । भारतपछि चीन र अर्जेन्टिना नेपालको प्रमुख व्यापारिक साझेदारका रूपमा रहेका छन् ।निर्यातमा उल्लेख्य वृद्धि देखिए पनि आयात र व्यापार घाटा दुवै बढेकाले नेपालको वैदेशिक व्यापारमा निर्यात विस्तारसँगै आयात प्रतिस्थापन र उत्पादन वृद्धि चुनौतीका रूपमा देखिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.