काठमाडौँ, ११ कात्तिक । स्पेनको टोलेडो क्षेत्रमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ । यद्यपि, मृतकको यो संख्या स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख छ ।
दुर्घटनाबारे थप विवरण सार्वजनिक भएको छैन । रेलहरू कसरी ठोक्किए र दुर्घटनामा कति जना घाइते भए भन्नेबारे पनि विस्तृत जानकारी आउन बाँकी छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री सान्चेजले दुर्घटनाको अवस्थाबारे आफू यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन् । दुर्घटनाको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
