चुनावको ४८ घण्टाअगावै नेपाल–भारत सीमानाका बन्द गरिने

चुनावको ४८ घण्टाअगावै नेपाल–भारत सीमानाका बन्द गरिने

मुख्य बुँदा

फागुन २१ को चुनावअघि ४८ घण्टाअगावै सीमानाका बन्द

नेपाल–भारत १६औँ डीआईजीस्तरीय समन्वय बैठकको निर्णय

सीमा सुरक्षा र सूचना आदान–प्रदानमा सहमति

अवैध प्रवेश, मानव बेचबिखन र तस्करी नियन्त्रणमा जोड

संयुक्त गस्ती र नियमित जाँच प्रणाली लागू

सीमाक्षेत्रमा जाँडरक्सीको कारोबार पूर्ण रोकथाम

काठमाडौँ, २४ माघ । आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमानाका मतदानभन्दा ४८ घण्टाअगावै बन्द गरिने भएको छ।

मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डीआईजीस्तरीय समन्वय बैठकले उक्त निर्णय गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो।

बैठकमा सीमा सुरक्षालाई थप कडा बनाउने, सूचनाको आदान–प्रदान प्रभावकारी गर्ने, तेस्रो देशका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार रोक्ने विषयमा छलफल भएको थियो।

त्यसैगरी, सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालनका विषयमा समेत दुवै पक्षबीच सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ।

समन्वय बैठकमा सीमाक्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी जोखिम मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासीहरूको गतिविधिमाथि निगरानी राख्ने र विभिन्न तह बनाएर नियमित जाँच गर्ने विषयमा पनि सहमति भएको छ।

यसैगरी, आपराधिक तत्वबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने र सीमाक्षेत्रमा जाँडरक्सीको बिक्री, वितरण तथा सेवनमा पूर्णरूपमा बन्देज लगाउने विषयमा समेत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.