काठमाडौं । नेपालले पछिल्ला दुई दशकमा दूरसञ्चार क्षेत्रमा अद्वितीय फड्को मारेको छ। टु–जीबाट सुरु भएको प्रविधिको यात्रा अहिले फोर–जीमार्फत देशका ७७ वटै जिल्लामा फैलिइसकेको छ र अब नेपाल फाइभ–जीको व्यावसायिक प्रयोगतर्फ उन्मुख भइरहेको छ।
मोबाइल सेवा, डाटा सुविधा र इन्टरनेट पहुँचले देशको हरेक कुनामा डिजिटल छाप छोडेको छ। नेपाल टेलिकम, एनसेल लगायत सेवा प्रदायकहरूद्वारा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार भएको छ।
प्रवन्ध निर्देशक संगीता पहाडीको भनाइ
नेपाल टेलिकमकी प्रवन्ध निर्देशक संगीता पहाडी भन्छिन्– “हामीले टु–जी, थ्री–जी, फोर–जी हुँदै अब फाइभ–जी परीक्षणसम्म आइपुगेका छौं। यो केवल प्रविधिको विकास होइन, देशको समग्र सामाजिक–आर्थिक रूपान्तरणको प्रक्रिया हो। अब दूरसञ्चारलाई केवल सञ्चारको साधन नभई विकासको मेरुदण्डको रूपमा बुझ्नुपर्छ।”
उनका अनुसार, टेलिकमको सेवा ग्रामीण क्षेत्रसम्म पुर्याउन निरन्तर प्रयास भइरहेको छ। “हामी गाउँगाउँसम्म उच्च गतिको इन्टरनेट सेवा पु(याउने लक्ष्यसाथ फाइबर विस्तारको काम गरिरहेका छौं,” पहाडीले थपिन्।
इ–सिम, फाइभ–जी र डिजिटल नेपाल
नेपालले अब ‘इ–सिम’को युगमा पाइला टेकेको छ, जुन एक समय मोबाइल सिम किन्न रातभर लाइन बस्नुपर्ने अवस्थाबाट निकै अगाडि बढिसकेको संकेत हो। फाइभ–जीको परीक्षण सम्पन्न भइसकेको छ र निकट भविष्यमा व्यावसायिक सेवा सुरु हुने तयारी छ।
यसले आईओटी, स्मार्ट सिटी, ड्राइभरलेस गाडी, तथा हाइस्पिड डाटा आवश्यक पर्ने अन्य क्षेत्रको विकासमा क्रान्तिकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
चुनौती पनि छन्, सम्भावना अझ बढी
टेलिकम क्षेत्रको यो प्रगति चुनौतीविहीन छैन। संगीता पहाडी भन्छिन्, “पुराना ऐन, भारी लाइसेन्स शुल्क र पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती हाम्रो प्रगतिको गतिमा ब्रेक लगाउने तत्व हुन्। यिनलाई समयसापेक्ष परिमार्जन गर्नैपर्छ।”
उनले सरकार र नियामक निकायसँग सहकार्य गर्दै दूरसञ्चार क्षेत्रलाई पूर्ण व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता औँल्याइन्।
दूरसञ्चार अब केवल फोन वा इन्टरनेटको कुरा होइन।
यो शिक्षा, स्वास्थ्य, उद्यमशिलता र डिजिटल पूर्वाधारको मूल आधार बन्दै गएको छ। संगीता पहाडीको नेतृत्वमा नेपाल टेलिकम अब फाइभ–जीमार्फत ‘डिजिटल नेपाल’ बनाउने यात्रामा अग्रसर छ।