बागमती । मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनी उद्योग एवं व्यापारिक फर्म हुने क्रम बढ्दो छ । आर्थिक मन्दीका कारण आर्थिक वर्ष २०७८र७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो । चालु आव २०८१र८२ को सात महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका तीन सय छ वटा व्यापार बन्द भएका छन् ।
उद्योग तथा वाणिज्य कार्यायल मकवानपुरका अनुसार आव २०८१र८२ मा उद्योगतर्फ १२७ र वाणिज्यतर्फका १७९ उद्योग व्यापारको लगतकट्टा गराएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ गरी ६०४ उद्योग व्यापार बन्द भएको थियो । यस्तै आव २०७९–८० मा मकवानपुरमा उद्योगतर्फ ११० र वाणिज्यतर्फ १७३ गरी २८३ उद्योग व्यापारको लगतकट्टा गरिएको थियो भने आव २०७८–७९ मा उद्योगतर्फ ११८ र वाणिज्यतर्फ ७२ गरी १९० उद्योग व्यापारको लगतकट्टा गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए।
विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव, युवा वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायतका कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको लगतकट्टा हुने सङ्ख्या बढेको कार्यालय प्रमुख भुसालले बताए।
प्रमुख भुसालका अनुसार मकवानपुरमा बर्सेनि उद्योग व्यवसायको लगतकट्टा बढ्दै जाँदा नयाँ उद्योग व्यवसाय दर्ता भने घट्दै गएको छ। चालु आव २०८१र८२ को सात महिनामा नयाँ उद्योग र वाणिज्यतर्फ ४३० नयाँ व्यवसायी दर्ता भएको छ । चालु आवमा उद्योगतर्फ २५७ र वाणिज्यतर्फ १७३ गरी ४३० नयाँ उद्योग व्यापार दर्ता भएको कार्यालय प्रमुख भुसालले बताए।
जबकि अघिल्लो आव २०८०–८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ गरी ७०१ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । आव २०७९–८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार २५२ उद्योग व्यापार दर्ता भएको थियो । सात महिनामा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगतकट्टालगायतका शीर्षकबाट एक करोड ७० लाख ३२ हजार ८०५ रुपैयाँ राजस्व संकलन भएको प्रमुख भुसालले बताए।
लामो समयदेखिको आर्थिकमन्दीका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम समेत बढेको छ। यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन्। रासस
