भक्तपुर । विदेशिन बाध्य नेपाली युवाहरूको सुरक्षित आप्रवासन सुनिश्चित गर्न सुरु गरिएको सुरक्षित आप्रवासी (सामी) कार्यक्रम चौथो चरणमा प्रवेश गरेको छ। सुर्यविनायक नगरपालिकामा सम्पन्न भएको परिचयात्मक कार्यक्रम तथा अन्तरसरकारी समन्वय बैठकले सुरक्षित आप्रवासन अभियानलाई थप संस्थागत र प्रभावकारी बनाउन स्थानीय तहबीचको सहकार्यलाई बलियो बनाउन उक्त बैठक बसेको हो ।
सामी कार्यक्रमको मुख्य उद्देश्य भनेको वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको जीवनलाई सुरक्षित बनाउने, सीपयुक्त र न्यायपूर्ण बनाउन सरकारको प्रतिबद्धता जनाउनु हो। यस सन्देशलाई अझ सशक्त बनाउन सरकारी र स्थानीय तहबीचको सहकार्यलाई प्रगाढ बनाउने प्रयास गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै सुर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले भने, “हामी अब वैदेशिक रोजगारीका लागि जाने व्यक्तिहरूलाई न केवल जानकारी मात्रै होइन सीपयुक्त तालिम पनि प्रदान गर्नेछौं। यसले तिनीहरूको भविष्य सुनिश्चित गर्न मद्दत पुर्याउँछ। यस कार्यक्रमले हामीलाई स्वदेशमै पनि रोजगारिको अवसर सिर्जना गर्न सक्ने छ।”
उक्त कार्यक्रममा उपस्थित स्थानीय सरकारका प्रतिनिधिहरू र सहभागीहरूले ‘स्वदेशमै रोजगारी, विदेश जानु परे सीप र जानकारीसहित मात्र जानु’ भन्ने सन्देशलाई अझ बलियो बनाउने कुरामा सहमति जनाए ।
सामी कार्यक्रमको उद्देश्य र योगदान
सामी कार्यक्रमले वैदेशिक श्रमिकहरूको अधिकार र सुरक्षामा ठूलो परिवर्तन ल्याएको र शुरुमा यो कार्यक्रम श्रमिकहरूको सीप विकास, न्यायमा पहुँच र मनोसामाजिक परामर्श प्रदान गर्नमा केन्द्रित भएको थियो। समयसँगै यसले एक संस्थागत रूप लिई देशभर फैलिने तयारी गरेको छ।
सामी कार्यक्रमले अब स्थानीय तहहरूलाई पनि जिम्मेवार बनाएको छ, जसले श्रमिकहरूको भलोका लागि कार्यक्रमको निरन्तरतामा सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका निभाएको छ।
नेपाल–स्विजरल्याण्ड सहकार्य र सफलताहरू
सामी कार्यक्रम नेपाल र स्विजरल्याण्ड सरकारबीचको सहकार्यमा आधारित छ, नेपाली श्रमिकहरूले विदेशमा जाने क्रममा अधिकतम सुरक्षा र अवसर प्राप्त गर्ने कार्य यसले सुनिश्चित गरेको छ ।
सामीका प्रमुख पुरुषोत्तम सुवेदीले प्रस्तुत गरेको रिपोर्टमा उल्लेख गरिएको छ कि नेपाल सरकार र स्विजरल्याण्ड सरकारका बीचमा भएको यो सहमतीले बैदेशीक रोजगारीमा मृत्यु वरण गरेका मानिसहरुले पाउने सहायाता साउदी लगायत देशबाट २ अर्ब रुपैयाँ फिर्ता ल्याउा सफल भएको बताए । यसले गर्दा पीडित परिवारहरूको उद्धारमा ठूलो योगदान पुर्याएको उनको तर्क छ।
विदेशमा नेपाली श्रमिकहरूको अवस्था
कार्यक्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव विरेन्द्रदेव भारतीले नेपाली श्रमिकहरूको अवस्था चिन्ताजनक रहेको बताए ।
उनले विश्वभर छरिएका नेपाली श्रमिकहरूको अवस्था चिन्ताजनक रहेको बताउँदै वैदेशिक रोजगारीको इतिहास १८१४ सालदेखि सुरु भएको बताए । २०४६ सालपछिको खुला अर्थतन्त्रले यो प्रवृत्तिलाई तीव्र बनाएको प्रस्ट पारे।
उनले भने, “विविध देशमा गएका नेपालीहरूको अवस्था कहालीलाग्दो छ। १८१४ सालदेखि सुरु भएको वैदेशिक रोजगारीको क्षेत्रमा ठूलो परिवर्तन आएको छ र अहिले ७१ लाख नेपाली श्रमिक विदेशिएका छन्।” उनले भने, “आफ्नो काम खोज्न गएका नेपालीहरूले जोखिमी वातावरण र असुरक्षित कामका कारण समस्यामा परेको पाइएको छ।”
सुर्यविनायक नगरपालिकाको प्रतिबद्धता
कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सामी कार्यक्रमलाई सशक्त बनाउने अठोट व्यक्त गर्दै भने, “सीप र जानकारीबिना विदेश जाने नेपालीहरूले कठिनाइको सामना गरिरहेका छन्। मैले आफैं पनि अमेरिका भ्रमण गर्दा दुई लाख रुपैयाँ टिप्स दिएर आएको छु।”
उनले थपे, यदि हामीले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सक्यौं भने विदेश जानु पर्दैन। यदि विदेश जानु परे, सही जानकारी र सीप प्राप्त गरेर मात्र जानु पर्छ, अन्यथा केवल बाकसमा फर्किनु पर्नेछ।
भविष्यका योजना र सहकार्य
कार्यक्रमका सहभागी सबै निकायहरूले सामी कार्यक्रमको दीर्घकालीन र सफल कार्यान्वयनका लागि सहकार्य र साझेदारी गर्ने सन्देश दिएका छन्। देशभरि स्वदेशमै रोजगारी सिर्जना गर्न र विदेश जानै परे सीपयुक्त, व्यवस्थित र सुरक्षित आप्रवासनका लागि सबै उपायहरू अवलम्बन गर्ने प्रतिवद्धता जनाइएको छ। विश्लेषकहरूका अनुसार, यो कार्यक्रमले नेपाली श्रमिकहरूको सुरक्षासँगै समग्र आर्थिक समृद्धिमा योगदान पुर्याउनेछ।
स्वास्थ्य र आर्थिक सहायता विस्तार
कार्यक्रममा सामीका प्रमुख कार्यक्रम अधिकृत उमा पौडेलले विदेशमा मृत्यु वरण गरेका परिवालाई १० लाख रुपैयाँ आर्थिक सहायता वितरण दिने गरेको जानकारी दिइन । उनले पाँचवटा गम्भीर रोगहरूको उपचार समेत सरकारले सुनिश्चित गरिएको जानकारी दिदै यसले श्रमिक र तिनका परिवारहरूलाई सशक्त र सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका निभाएको ताइन ।
गत वर्ष ३८ जिल्लामा सीमित रहेको सामी कार्यक्रम अब ७७ वटै जिल्लामा विस्तार गरिँएको र विस्तारसँगै सुरक्षित आप्रवासन सम्बन्धी जनचेतना सम्पूर्ण देशभर फैलिने अपेक्षा गरिएको छ।
