काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता उत्साहजनक एवं शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार रिक्त ४४ पदमा हुने उपनिर्वाचनका लागि ४ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।nनिर्वाचन आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार ४ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । यसैगरी, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।
साथै, गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरुष र १ अन्य गरी जम्मा ३ सय २३ जनाको मनोनयनपत्र दर्ता भएको छ । उम्मेदवारको मनोनयनपत्र दर्ता भएकामध्ये सबैभन्दा धेरै धनुषा जिल्ला रहेको छ । धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नं ४ को वडाध्यक्ष पदमा तीन–तीन जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगकी प्रवक्ता अर्यालले जानकारी दिइन् ।
आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगले ३ मंसिर अर्थात् आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी ४ मंसिरमा साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्दै छ ।
५ मंसिरमा बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने आयोगले जनाएको छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा १६ मंसिरमा निर्वाचन हुँदै छ ।
यसैबीच, ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । सो पदमा भट्टराईको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । जिसस ओखलढुंगाको प्रमुखमा निर्विरोध निर्वाचित भएपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गर्ने अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई डर धम्की दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आयोगसमक्ष लिखित रूपमा निवेदन दिँदै सो कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । स्थानीय तह उपनिर्वाचनमा विभिन्न साना दलले आयोगमा दल दर्ता गराए पनि निर्वाचनमा सहभागी नहुने भएका छन् ।
राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा बहुमत र नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा उम्मेदवार नउठाउने र भाग पनि नलिने जनाएका छन् । चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा उपनिर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।
धर्मेन्द्र बास्तोला संयोजक रहेको नेकपा बहुमतले पनि स्थानीय तह उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको संयोजक बास्तोलाले जनाएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि स्थानीय तह उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
