काठमाडौं । स्थानीय तहको उपनिर्वाचन आज विहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि निर्वाचनमा ३७६ जना उम्मेदवार मैदान उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन सुरु भएको हो ।
ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएका छन् । यस्तै पूर्वी रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदमा ४१ पदका लागि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
काठमाडौं कीर्तिपुर
२० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का
अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् । शान्तिपूर्ण मतदान भइरहेको अधिकृत इन्दिरा कार्कीले बताइन् । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मतदान भइरहेको छ । मतदाताहरूको संख्या बढ्दै गएको छ ।
विराटनगरः
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा बिहानैदेखि मतदाता जारी छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । ७ वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाताले मतदान गर्दै छन् । ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।
रुकुम पूर्व
पुथा उत्तरगंगा गाउँपालिकामा भइरहेको उप निर्वाचनमा समाचार तयार पार्दासम्म सात सय २३ मत खसेको छ । १४ वडाका भित्रका १९ मतदान स्थल तथा २२ वटा मतदान केन्द्रबाट स्थानीयले मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए । ११ हजार एक सय ८० जना मतदाताले मतदान गर्दै छन् ।
दार्चुला, गोरखा र गुल्मी
रिक्त विभिन्न पदका लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । यहाँ दुई हजार दुई सय २५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सुदूरपश्चिम
सुदूरपश्चिममा रिक्त रहेको पदको लागि मतदान जारी भएको छ । उपनिर्वाचनअन्तर्गत पाँच पदका लागि मतदान भइरहेको हो । प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार बिहान ७ बजेदेखि नै पाँच वटै स्थानमा उत्साहजनक रूपमा मतदान जारी छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । जहाँ १०० बढी मत खसिसकेको मतदान अधिकृत भट्टले जानकारी दिए ।
दुहुँ गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा पनि मतदान जारी रहेको भट्टले जानकारी दिए । त्यहाँ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ ।
कर्णाली
कर्णालीका ८ स्थानीय तहमा मतदान जारी छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । ८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । महावु गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका एकीकृत समाजवादीका जगतबहादुर हमालले एमालेलाई समर्थन गरेका छन् ।
यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, माओवादी केन्द्रबाट जंगबहादुर बराल, एमालेबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।नेमकिपाबाट दुर्गबहादुर मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राप्रपा सुर्जे रावत चुनावी प्रतिस्पर्धामा छन् ।
हेटौँडा
उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुर
स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ । २ मतदान स्थलमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
