काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई कडा जवाफ फर्काएका छन् । आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न उनले चुनौती दिए ।
शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने बताए । उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न ।
भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल ’ यस्ता फाल्तु कुरा गरेर केही फरक नपर्ने भन्दै ओलीले अन्य दलका कतिपय नेताहरु सामान्य अवस्थाबाट एकाएक अर्बौँको मालिक भएको भन्दै यसबारे टिप्पणी गरे ।
ओलीले बीआरआई ऋण अन्तर्गत स्विकार्न नसकिने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे ब्रिफिङ गर्दै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ऋणमा स्विकार्न नसकिने बताएका हुन् । ‘चीन भ्रमण हुँदैछ । बीआरआईबारे पनि चर्चा भइरहेको छ । तपाईंहरुलाई पनि लाग्ला बीआरआई के हुन्छ ?
तर हामी अहिले ऋणमा बीआरआई स्विकार्न सक्ने अवस्थामा छैनौँ’, प्रधानमन्त्री ओलीको ब्रिफिङ उद्धृत गर्दै एक मन्त्रीले भने– ‘अनुदानमा भए स्वीकार गर्न सकिन्छ ।’ बैठकमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको तयारी र एजेन्डाबारे समय आएपछि छलफल गर्दै जाने बताएका थिए ।
सरकारलाई कसैले हल्लाउन सक्दैन
अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप लगाएउँदै उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताए । प्रधानमन्त्री ओलीले समाजमा भ्रम फैलाएर अराजकता मच्चाउनेहरूले लोकतन्त्र र संविधान मास्न खोजेको बताए ।
लडेर ल्याएको यो व्यवस्था र तदनुकुल व्यवस्थाको रक्षा गर्दै देश र जनताको भलाइका लागि काम गर्ने दाबी गरे । केही मानिसहरूले झुटको खेती गरेपछि सबै समाज त्यस्तै भयो भनेर सोच्न सक्ने भन्दै ओलीले जनता गोरवपूर्ण इतिहास र परम्परा अनुसार चल्ने भएकाले जनता कुहिरोको काग बनेर नकुद्ने बताए ।
वर्तमान सरकार र समीकरण ८४ सम्मै टिक्ने दाबी गरे । प्रधानमन्त्रीले भने, ‘कान खोलेर सुने हुन्छ । २०८३ असारसम्म म प्रधानमन्त्री हुन्छु र शेरबहादुर देउवाजीले १८ महिना चलाउनुहुन्छ । कुनै भ्रम नराखे हुन्छ । यस्ता भ्रममा नपर्नुस् र पर्न नदिनुस् ।’
