काठमाडौं । काठमाडौं । नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । कयौं अंगभंग तथा घाइते भएका छन् ।सडक दुर्घटनाबाट पाँच वर्ष यता ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् । २७ हजार सात सय २६ व्यक्ति घाइते भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा एक हजार तीनसय तीन जनाले अकालमा ज्यान गुमाएका छन् ।
सबैभन्दा धेरै मधेस प्रदेशमा छ। मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा दुई सय ६१, कोशी प्रदेशमा दुई सय १९, बागमती प्रदेशमा एक सय ७३, सुदूरपश्चिम प्रदेशमा एक सय चार, गण्डकी प्रदेशमा एक सय, काठमाडौं उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । सोही अवधिमा २३ हजार पाँच दुर्घटना भएका छन् ।
दुर्घटना भएकामध्ये सबैभन्दा बढी काठमाडौंमा ११ हजार छ सय १९, मधेस प्रदेशमा पाँच हजार ८०, कोशी प्रदेशमा दुई हजार आठ सय ३०, बागमती प्रदेशमा एक हजार दुई सय २१, लुम्बिनी प्रदेशमा नौ सय २९, कर्णाली प्रदेशमा आठ सय छ, गण्डकी प्रदेशमा दुई सय ९२ र सुदूरपश्चिम प्रदेशमा दुई सय २८ दुर्घटना भएको प्रवक्ता ढकालको जिकिर छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म सवारी दुर्घटनाबाट तीन हजार छ सय ४३ यात्रु गम्भीर घाइते भएका छन् भने १५ हजार सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आव २०७६,७७ मा दुई हजार दुई सय ५१, आव २०७७, ७८ मा दुई हजार पाँच सय, आव २०७८, ७९ मा दुई हजार आठ सय ८३ र आव २०७९र८० मा दुई हजार तीन सय ६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । आव २०७६, ७७ मा चार हजार छ सय १५, आव २०७७, ७८ मा छ हजार चार सय ४८, आव २०७८, ७९ मा सात हजार दुई सय ८२ र आव २०७९, ८० मा पाँच हजार सात सय ३८ जना गम्भीर घाइते भएका छन् । काठमाडौं उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार साउनदेखि फागुन मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर एक सय १७ जनाले अकालमा ज्यान गुमाएका छन् । चालकको लापरवाहीका कारण दुर्घटना हुने गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । सडक सञ्जाल थपिएसँगै नेपालमा पछिल्लो समय सवारी दुर्घटनासमेत बढ्दै गएका छन् । सवारी दुर्घटना र यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ गठन गरेको थियो ।
उक्त कार्यदलले एक वर्ष लगाएर यातायात क्षेत्रको सुधारका लागि अध्ययन गरेर गत माघमा सरकारसमक्ष प्रतिवेदनसमेत बुझाइसकेको छ। प्रतिवेदनले सडक दुर्घटनाका प्रमुख कारण पाँचवटा रहेको बताएको छ। मानवीय कारण, सवारीसाधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको पाँच कारण रहेको बताइएको छ। सवारी चालकको कारण ८८.३५ प्रतिशत दुर्घटना हुने गरेको छ। सवारीसाधनको कारण २.५९ प्रतिशत, यात्रुको कारण ४.२० प्रतिशत, सडकको अवस्थाका कारण ४.१२ प्रतिशत र मौसमका कारण ०.७४ प्रतिशत दुर्घटना हुने गरेको छ।
