भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भूकम्प गएको ८ वर्ष बितिसक्दा पनि सिंहध्वाका दरबारको पुनःनिर्माण हुन नसक्दा दरबार क्षेत्र नै असुरक्षित भएको बताउनुभएको छ । ‘स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नारासहित भक्तपुर नगरपालिका, नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मंगलबार उद्घाटन गर्दै सांसद सुवालले उक्त कुरा बताउनु भएको हो ।
उहाले विश्व सम्पदा सूचीमा सूचिकृत सिंहध्वाका दरबार पुनःनिर्माण प्राप्त पुराना प्रमाणहरूको आधारमा मल्लकालीन शैलीमा पुनःनिर्माणमा जोड दिनुभएको थियो । काठमाडौं उपत्यकामा जनसंख्या केन्द्रीकरणले खाद्यान्न, ट्राफिक जाम, प्रदूषण, खानेपानी अभावलगायतका समस्या निम्तिएको बताउँदै उहाँले देशको सन्तुलित विकास गर्न उपत्यका बाहिर स—साना नयाँ सहरहरू निर्माण गरिनुपर्ने बताउनुभयो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले भूगर्व अध्ययन विना जथाभावी प्लानिङ गर्दा उपत्यका भूकम्पीय जोखिममा परेको बताउँदै उहाँले उपत्यकामा भूकम्पबाट जनधनको क्षति भए प्राधिकरणका हाकिमहरू दोषी हुने उहाँले प्रष्ट पार्नुभयो । कुनै पनि संरचना निर्माण गर्नुपूर्व त्यस क्षेत्रको भूगर्वबारे अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले भूकम्पीय जोखिम कम गर्ने प्राविधिसम्बन्धी नयाँ पुस्तालाई डकर्मी र सिकर्मीको तालिम दिनुपर्ने र भूकम्पबाट क्षति कम हुने संरचना निर्माणको लागि बनाइएका मापदण्डहरू कडाइका साथ लागू गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प निर्मित संरचनाले क्षति पुग्ने हुँदा बलियो र भूकम्प प्रतिरोधी निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । भक्तपुर नपाले प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवसको अवसरमा जनचेतनामूलक प्रदर्शनी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउँदै उहाँले ऐतिहासिक एवम् पुरातात्विक सम्पदा पुनःनिर्माणमा भूकम्प प्रतिरोधी निर्माणशैली सीप र सामाग्री प्रयोग गर्दै सम्पदा संरक्षण गर्दै आएको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले देशले ४०—५० वर्षको अन्तरालमा महाभूकम्प व्यहोर्दै आइरहेको यथार्थबारे प्रष्ट पार्दै १९९० सालको भूकम्पपश्चात पनि धेरै ठूल्ठूला भूकम्पहरूबाट सिक्दै सुरक्षित समाज र बस्ती निर्माणमा अगाडि बढ्ने कोसिस हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बलियो र भूकम्प प्रतिरोधी संरना निर्माणमा जनताको चेतनास्तर जति आवश्यक हुन्छ, देश सम्हाल्ने सरकारको जिम्मेवारी, दूदर्शिता र संवेदनशीलता पनि त्यति नै महत्वपूर्ण हुन्छ ।’
हाम्रा पुर्खाले पनौती, चित्तपोल, कटुन्जे, किर्तिपुरलगायतका ठाउँहरूमा बस्ती विकास गर्नु आफैमा भौगर्विक ज्ञानपश्चानको निर्माण हुनुपर्छ भन्दै उहाँले पुर्खाले मठ मन्दिर, पाटी पौवाहरू केबल देवता राख्नको लागि मात्र बनाएको नभई यहाँको जनजीवन र भौगर्विक स्थितिलाई मध्यनजर गर्दै बनाइएका संसारकै उत्कृष्ट र नमुना निर्माणको रुपमा रहेको बताउनुभयो । केन्द्रीकृत बस्तीको निर्माणले पनि उपत्यकालाई भूकम्पीय जोखिमलाई झन् बढाएको बताउँदै उहाँले विगतका विपद् र क्षतिबाट सिकेर अगाडि बढ्नु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पूर्वजले सिकाएको प्रविधि, स्थानीय स्रोत र साधनको प्रयोगबाट बनेका सम्पदाहरू २१ औं शताब्दीमा पनि अत्यन्त महत्वपूर्ण संरचनाको रुपमा रहेको बताउँदै भक्तपुर नपाले सम्पदा पुनःनिर्माणमा स्थानीयको सहभागिता, स्थानीय प्रविधिमै जोड दिँदै आएको बताउनुभयो । भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारी श्रेष्ठले विभिन्न आयातित वस्तुमा आधारित भएर निर्माण गरिएका संरचना मात्रै भूकम्प प्रतिरोधी हुने मानसिकता गलत भएको बताउँदै स्थानीय स्रोत र साधनलाई प्रयोग गरी भूकम्प थेग्ने संरचना गर्न सक्छौं भन्ने सन्देश दिन यो दिवस सफलत रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले पनि बोल्नुभएको थियो । कार्यक्रमको उद्घाटनपश्चात प्रमुख अतिथि तथा अतिथिहरुले प्रदर्शनीस्थल अवलोकन गर्नुभएको थियो । उक्त प्रदर्शनीमा ३१ वटा मोडल, ४३ वटा चित्रकला, २६ वटा पेपर ब्रिज, ६ वटा पोष्टर र सुरक्षा निकायबाट सुरक्षा तथा उद्धार सामाग्रीहरू प्रदर्शनीमा राखिएका थिए ।
