काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गरेको छ । मन्त्रालयले तीन वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग)लाई सुरक्षा तयारी थाल्न निर्देशन दिएकाे हाे । त्याे सँगै सम्बन्धित सुरक्षा निकायहरुले तयारी थालेका हुन् । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीका अनुसार कार्य विभागका एसपी सञ्जय सिंह थापाको कमाण्डमा समिति गठन गरिएको हो । उक्त समितिले निर्वाचनको सुरक्षाका लागि चाहिने सम्पूर्ण तयारी गर्ने डीआईजी कार्कीले बताए । ‘सम्बन्धित निकायहरु समन्वय गर्ने, सुरक्षा तयारी गर्ने, निर्वाचनका लागि चाहिने बन्दोबस्तीको सामानहरुको व्यवस्था गर्नेलगायत सबै काम केन्द्रीय निर्वाचन सुरक्षा समितिबाटै हुन्छ’ प्रवक्ता कार्कीले भने ।
समितिले सम्बन्धित ठाउँको अनुगमन, सुरक्षाकर्मी परिचालन, थप जनशक्ति माग, विभिन्न सुरक्षा रणनीतिहरुको अध्ययन गरेर काम गर्नेछ । उपनिर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखहरुसँग चुनावको क्रममा हुनसक्ने सुरक्षा चुनौती र आवश्यक रणनीतिक योजना समेत केन्द्रीय निर्वाचन सुरक्षा समितिले माग गरेको छ । सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने तयारी केन्द्रीय सुरक्षा समितिको छ ।
सुरक्षाकर्मीले नपुगेको अवस्थामा अन्य जिल्लाका सुरक्षाकर्मीहरु मागेर परिचालन गर्नेसम्मको अधिकार केन्द्रीय निर्वाचन सुरक्षा समितिलाई दिइएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जिल्लादेखि केन्द्रसम्म निर्वाचन सुरक्षा सेल समेत गठन गरेर काम सुरु गरिएको बताए ।
कहाँ हुँदैछ उपनिर्वाचन ?
निर्वाचन आयोगले स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन गर्न लागेको हो । जसमध्ये जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ वटा पद रिक्त छ ।
ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि चुनाव गर्न लागेको हो ।
२८ जिल्लाका ३४ वडाध्यक्ष पदका लागि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ । जसमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ र ४ काठमाडौं महानगरपालिका–१६, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२,
गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ र कपिलवस्तु शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष पदमा निर्वान हुँदैछ । दैलेखको दुल्लु नगरपालिका–१३,
कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोट कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

