भर्खरै : Sorry, your browser does not support inline SVG.

पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको माटोको भाँडा बनाएर उद्घाटन

पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको माटोको भाँडा बनाएर उद्घाटन

मुख्य बुँदा 

माटोको भाँडा बनाएर पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल उद्घाटन

पुस ११ र १२ गतेसम्म फेस्टिभल सञ्चालन

भाषा, कला र संस्कृति संरक्षणमा जोड

प्रजापति समुदायको परम्परागत पेशाको प्रवर्द्धन

खाद्य, कृषि र माटाका भाँडाकुँडाका स्टल तथा सांस्कृतिक कार्यक्रम

भक्तपुर, ११ पुष । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालाकोस्थित पोटरी स्क्वायरमा माटोको भाँडा बनाएर पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको उद्घाटन गर्नुभएको छ। प्रमुख प्रजापतिले एकीकृत हाकुज्या प्रजापति समाज र कल्चर क्याफे एण्ड बारको संयुक्त आयोजनामा पुस ११ र १२ गतेसम्म हुने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको चाखमा माटोको भाडा बनाएर उद्घाटन गर्नुभएकाे हाे ।

पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको माटोको भाँडा बनाएर उद्घाटन

सडक महोत्सव पूर्ण सफलताको शुभकामना दिँदै भाषा, कला र संस्कृति बचाउन सकेमात्र हामीले आफ्नो पहिचान कायम गर्न सकिने उहाँले बताउनुभयो। उहाँले माटोको भाडा बनाउने काम मानव विकास र सभ्यतासँग जोडिएको विषय हो भन्दै यो पेशा प्रजापति समुदायको मुख्य पेशा र रोजगारीको प्रमुख स्रोत पनि भएको बताउनुभयो।

पुराना सीपहरू संरक्षण गर्नु भनेको नयाँ पुस्तालाई मानव सभ्यतासँग परिचित गराउनु पनि हो भन्दै उहाँले माटोको भाडा बनाउने पेशामा धेरै चुनौती थपिएतापनि यहाँका समुदायहरूले यसलाई जीवन्तता दिने काम गर्दै आएको सराहनीय छ भन्नुभयो। भक्तपुरको तालाको क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि एकदम महत्त्वपूर्ण ठाउँ भएको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले विदेशी पर्यटकको मात्र भर नपरी आन्तरिक पर्यटन प्रवर्धनमा पनि जोड दिँदै आएको बताउनुभयो।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर महोत्सव र विभिन्न समयमा आयोजना गरेका ससाना महोत्सवहरुले गर्दा भक्तपुरलाई वर्षैभरि महोत्सवमय बनाउन टेवा पुर्याएको बताउँदै पुराना पुस्ताको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभिप्रायले पनि भक्तपुर नगरपालिकाले विविध गतिविधिहरु सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो।

भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले नाचगानको राजधानी भक्तपुरलाई सार्थक रूप दिन स्थानीय स्तरबाट भएका यस्ता महोत्सव आयोजनाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। तालाको क्षेत्र ऐतिहासिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण ठाउँ भएकोले यसको संरक्षण, सम्वर्धन र प्रवर्द्धन गर्न पनि महोत्सव आयोजना गरिएको बताउनुभयो।

कार्यक्रमका सभापति हाकुज्या प्रजापति समाजका अध्यक्ष बालकृष्ण प्रजापतिले कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन सबैको साथ र सहयोग रहने अपेक्षा गर्दै भक्तपुर नगरपालिकाले आगामी दिनहरुमा पनि यस्ता गतिविधिमा साथ दिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर नपा वडा नं ४ का वडा सदस्य कृष्णसुन्दर प्रजापतिले कुम्ह त्वबाट परिचित यस ठाउँमा जन्मदेखि मृत्युसम्मलाई चाहिने माटाका भाडाकुडाहरु बनाइने बताउँदै भक्तपुरको परम्परागत पेशालाई आधुनिकतासँगै परिमार्जित गरि अगाडि बढ्न सके नयाँ पुस्तालाई पनि यसप्रति आकर्षित गर्दै लान सकिने बताउनुभयो।

पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको माटोको भाँडा बनाएर उद्घाटन

कार्यक्रम संयोजक उकेश प्रजापतिले भक्तपुरको मौलिक उत्पादन र सीपलाई संरक्षण गर्ने उद्देश्यले स्ट्रीट फेस्टिबलको आयोजना भएको बताउनुभयो। आज र भोलि हुने फेस्टिभलमा खाद्य, कृषि, माटाका भाडाकुडाहरूको स्टल तथा प्रदर्शनी, सांस्कृतिक नाच र सांस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.