काठमाडौं । माओवादी केन्द्रमा अहिले खैलावैला चलेको छ । पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा भाइ नारायण दाहाललाई उम्मेदवार बनाएपछि खैलावैला भएको हो ।
आईतवार बसेको पदाधिकारी बैठकमा प्रचण्डले भाई नारायण दाहाललाई उम्मेदवार बनाएका हुन । आज सोमबार उम्मेदवारी दर्ता हुनेछ भने भोलि निर्वाचन हुनेछ ।
चुनाव जितेर आएकामध्ये कसैलाई उम्मेदवार बनाउनुपर्ने मत माओवादीभित्र उठेको थियो । तर प्रचण्डकै चाहनामा दाहाललाई उम्मेदवार बनाउने निर्णय भएपछि पार्टीपंक्तिमा असन्तुष्टि चुलिएको छ ।
पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा राष्ट्रियसभा उपाध्यक्ष अर्यालसँगै मायाप्रसाद शर्मा, झक्कु सुवेदी, रेणु चन्दको नाम छलफलमा आएको थियो ।
मायाप्रसादको कार्यकाल २ वर्ष मात्र बाँकी छ । उर्मिला र दाहालको चार वर्ष बाँकी छ भने भर्खर चुनाव जितेर आएका झक्कु सुवेदी र रेणु चन्दको कार्यकाल ६ वर्ष छ ।
प्रचण्डको पहलमा पार्टी उपाध्यक्षहरु पम्फा भुसाल, अग्नि सापकोटाले अवसरबाट बञ्चित हुँदै आएको भन्दै दाहाललाई उम्मेदवार बनाउन जोड दिएका थिए ।
दाहाल ०७८ माघमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए । तर माओवादी पदाधिकारीहरुले प्रचण्डको चाहनामा राष्ट्रपतिबाट मनोनित भएका दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरे ।
प्रचण्डमा परिवार मोह अटुट रहेको भनेर माओवादी नेताहरूले आलोचना गरिरहेका छन् । परिवार केन्द्रित भएको भन्दै लामो समयदेखि आलोचना हुँदै आइरहेपनि अवसर भने प्रचण्ड परिवारले नै लिइरहेको नेताहरूले बताएका छन् ।
सामन्तवादको किल्ला बालुवाटार हो भन्दै शर्मा थरका एक नेताले बताए । तर प्रचण्डले एकपछि अर्को अवसर परिवारमा नै केन्द्रित गरिरहेको उनको भनाइ छ ।
बुहारी बिना मगरलाई सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज, भाइ नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाएपछि उपमहासचिव जनार्दन शर्माले फरक मत राखे । शर्माको फरक मतलत्याईदिए र स्थायी समिति सदस्य खगराज भट्टलाई संसदीय दलको नेता र इन्चार्ज दुबै जिम्मेवारीबाट हटाए ।
कान्छी छोरी गंगा दाहालका श्रीमान जीवन आचार्यलाई कोशी प्रदेशको मन्त्री बनाए । एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री हुँदा गत वर्ष २६ पुसमा प्रचण्डले गर्दा आचार्य पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।
कांग्रेस नेतृत्वमा अर्को गठबन्धन बन्दा आचार्यको मन्त्रालय बढुवा भयो । त्यतिबेला आर्थिक मामिला तथा योजना मन्त्री बने । जबकी उनीभन्दा सिनियर नेताहरूले जिम्मेवारी नपाएको भन्दै पार्टी नै परित्याग गरे भने कतिपय निष्क्रिय बनेका छन् ।
ज्वाईं जीवन आचार्यका लागि प्रचण्डले अघिल्लो वर्षको आमचुनावमा टिकट नै साटफेर गरेका थिए । सत्ता गठबन्धनबीच भागबण्डा हुँदा सोलुखम्बु माओवादीको भागमा परेको थियो । तर प्रचण्डले सोलुखम्बु कांग्रेसलाई दिएर आचार्यलाई सहमज हुने गरी मोरङ रोजेका थिए ।
छोरी गंगालाई सचिवालयमा राखेर अरूलाई अविश्वास गरेको भनेर व्यापक आलोचना हुने गरेको छ । गंगाको विषयमा पार्टीभित्र मात्रै होइन, बजारमा समेत आलोचना भइरहेको छ ।
यस्ता आलोचनालाई व्यवस्था माथिकै प्रहार भनेर नेताहरूलाइ नाजवाफ पारिदिने गरेको मल्ल थरका नेताले बताए । प्रचण्डले राज्य व्यवस्था समितिमा जवाफ दिने क्रममा छोरीको बचाउ गर्दै ‘वर्तमान व्यवस्था र संविधान कमजोर बनाउने प्रयास’ भनेर प्रतिवादसमेत गरेको मल्लको जिकिर छ ।
गंगाले स्वकीय सचिवको हैसियतमा बालुवाटारको नेतृत्व गर्दा माओवादी केन्द्रभित्रै चर्को असन्तुष्टि पोखियो । कांग्रेस नेताले गंगाको पढाइ प्रति लक्षित गरेर आलोचना गरेका थिए । पार्टी उपमहासचिव हरिबोल गजुरेलले त प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा नै दिएका थिए ।
प्रचण्डका अर्का छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको लगातार दोस्रो कार्यकाल मेयर छिन् । माओवादी आन्दोलनलाई दाउमा राखेर छोरीलाई भरतपुरको मेयर दिलाएको नेताहरूले बताएका छन् ।
छोरीलाई जिताउन मतपत्र च्यातेर उपनिर्वाचनबाट मेयर जिताएका थिए । माओवादीका एक नेता प्रचण्डको व्यवहारले लाज पनि लजाउने भनेर मल्लले टिप्पणी गरे । अवसर परिवारका सदस्यले मात्र लिने भएपछि अरू नेताहरूले कहिले पालो पाउने भनेर मल्लले असतुष्टि व्यक्त गरे ।
