भर्खरै : Sorry, your browser does not support inline SVG.

दल सम्बन्धी अध्यादेश ल्याउने चर्चाले साना दलमा खैलावैला, शासकीय दल भने उत्साहित

दल सम्बन्धी अध्यादेश ल्याउने चर्चाले साना दलमा खैलावैला, शासकीय दल भने उत्साहित

काठमाडौं । सरकारले अध्यादेशमार्फत राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन खोजेको चर्चाले साना दलभित्र खैलावैला भएको छ । केह िउत्साह र केही भय दुवै किसिमको संकेत देखिन थालेको छ । राजनीतिमा दलहरू एकीकृत हुने र विभाजनको शृङ्खला चल्ने गरेको यथार्थलाई कोट्याउँदै यसो गर्न खोजिएको नेताहरुको भनाइ छ ।

अध्यादेशको आशंका र भयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख विपक्ष दलहरूले राजनीतिक दलसम्बन्धी अध्यादेश नल्याउन ज्ञापनपत्र बुझाउँदै आग्रह गरेका छन् । बैशाखमा मात्रै जनता समाजवादी पार्टी नेपाल फुटेर जसपा बनेको थियो । अशोक राईसहित सात सांसदले जसपा नेपाल विभाजित गरेर नयाँ दल गठन गरे ।

दलसम्बन्धी कानुनी व्यवस्थालाई लिएर जसपा नेपाल विभाजनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दा पार्टी विस्तार गर्न उनीहरूलाई अप्ठ्यारो परेको छ । गत जेठमा सरकारमै रहेका जसपाका सांसद र मन्त्रीको दबाबले संघीय संसदमा लामो समयदेखि विचाराधिन रहेको राजनीतिक दल सम्बन्धी विधेयक ‘प्रचण्ड’ नेतृत्वको सरकारले फिर्ता लियो ।

प्रतिनिधि सभाको बैठकमा तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ फिर्ता गर्ने प्रस्ताव राखेका थिए । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज भएकाले साविककै व्यवस्था राख्न भन्दै गृह मन्त्रालयले विधेयक अघि बढाएको थियो ।

संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनकै लागि विधेयक फिर्ता लिएको चर्चा त्यो बेला चलेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार टिकाउन कै लागि प्रचण्डले आफ्नो पार्टी फुटाएको अभिव्यक्ति दिए । सत्ता चलाउन र टिकाउन अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ भन्ने प्रचण्डको अभिव्यक्तिले जसपा नेपाल फुटेको यादवको दाबी साबित भएको थियो ।

पछिल्लो समय आन्तरिक किचलोमा भासिएको एकीकृत समाजवादी समेत फुट्न सक्ने भयले नेताहरूमा सन्‍नाटा छाइरहेको थियो । त्यहि बीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कहिले एमाले, कहिले कांग्रेससँग काँध फेरिरहे । असार अन्तिम साता कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि राजनीतिमा नयाँ मोड सिर्जना भएको छ ।

वर्तमान सरकारले नै संसदबाट लामो समयदेखि विवाद र विचाराधीन रहेको टीआरसी विधेयक पनि पारित गर्न सफल भयो । संयुक्त राष्ट्रसंघीय महासभाका लागि प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्क जानु अगाडि संसदलाई भ्रमणबारे जानकारी गराएर भदौ ३१ गते संसदको दुवै अधिवेशन अन्त्य भयो । प्रधानमन्त्री ओली अमेरिकामा नै रहेको समयमा असोज ११ र १२ गतेको बाढी पहिरोले सडक र बस्ती तहसनहस बनायो ।

जसरी नागरिकमा महान चाड बडादसैंको मुखमा सन्नाटा छायो, त्यसैगरी चाडपर्वको रमाइलो सँगसँगै अहिले केही साना राजनीतिक दलका शीर्ष नेतामा पार्टी फुटको भयले निन्द्रासमेत लाग्न छाडेको देखिन्छ । संसद् अधिवेशन नभएकाले कांग्रेस र एमालेका नेताहरुसँग भेटेर साना दलका केहि नेताहरुले दलसम्बन्धी अध्यादेश नल्याउन दबाब दिन थालेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल खुकुलो प्रावधान राखेर दल विभाजन सम्बन्धी अध्यादेश नल्याउन कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष सन्देश पठाइरहेका छन् । ओली नेतृत्वको सरकार बनेपछि पछिल्लो समय सरकारसँग एकीकृत समाजवादी बढी सशंकित देखिन्छ । कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओ‌लीसहितका शीर्ष नेताहरु भने राजनीतिक ‘कोर्स करेक्सन’ गर्नुपर्ने भन्दै छलफलमा जारी राखेका छन् ।

यसो गरे साना दलहरुआफूमा समाहित हुने खोक्रा आशा उनीहरुमा पलाएको छ । नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने शासकीय दलहरु बताउँदै आएका छन् । धेरै दलहरू हुँदा सरकार अस्थिर भएकाले सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको माउपार्टीहरुको दाबी छ । समृद्ध नेपाल बनाउन र विकासमा गति दिन दुई दल बलियो नभई सम्भव नहुने उनीहरुको तर्क छ ।

यसमा कांग्रेस र एमालेका नेताहरू हौसिएको देखिन्छ । सरकारमा नै रहेको राई नेतृत्वको जसपा र साना दलको माग पनि सम्बोधन गर्न र आफ्ना योजना पनि सफल बनाउन दसैं तिहारको बीचमा वा त्यस लगत्तै ‘राजनीतिक दल सम्बन्धी अध्यादेश’ जारी गर्नुपर्ने दबाबले त्यसको तयारीमा सरकार भने जुटिसकेको स्रोतको दावी छ।

 


Thali Mobile Pvt.Ltd.