भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

ढोरपाटन, २७ बैशाख । विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ। सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलोपटक कालोपत्र गरिएको हो।

भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो। मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्र गरिएको हो। सडकको बागलुङ नगरपालिका–१० भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर पर्छ।

यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्र गरेर सुरुआत भएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए। पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्र गरिएको उनको भनाई छ।

अध्यक्ष गौतमले भने, ‘जिल्ला सदरमुकामै पर्ने भएपनि रायडाँडा, रामतोला गाउँ विगतदेखि नै ओझेलमा पर्दै आएका थिए, यसवर्ष सङ्घीय सरकारको लगानीमा रामतोला गाउँ जोड्ने सडकको थालनी गरेका छौँ, अब हरेक वर्ष निरन्तर काम गर्दै गएर गाउँसम्मै कालोपत्र सडक पुग्ने छ।’

सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड ९५ लाखमा उक्त सडक कालोपत्र भएको हो। सडक डिभिजन कार्यालयमार्फत कालोपत्रको काम भएको हो। विसं २०८२ वैशाखमा हिलसाइड÷पीके जेभीले आगामी जेठ २५ गते सक्नेगरी जिम्मा पाएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिए।

एक किलोमिटर सडक फराकिलो बनाउने, नाली निर्माण, ग्याविन लगाउनेदेखि कालोपत्र गर्नेसम्मको काम गरेको उनको भनाइ छ। ट्रयाक खुलेदेखि अहिलेसम्म स्तरोन्नति नहुँदा कम दूरीको सडक कालोपत्र गर्न ठूलो लागत लागेको इन्जिनियर लामिछाने बताउँछन्। रासस

 


Thali Mobile Pvt.Ltd.