भक्तपुर । नेपालको सांस्कृतिक राजधानीको रूपमा चिनिने भक्तपुर शहर विश्व सम्पदामा सूचीकृत एक प्राचीन नगरी हो। यो शहर कला, संस्कृति, परम्परा र समुदायको जीवन्तताले भरिपूर्ण छ। भक्तपुरलाई कला र संस्कृतिको सहर मात्र होइन, कोही पनि भोकले नमर्ने सहरको रूपमा पनि चिनिन्छ। यसको पछाडि एक रोचक किंवदन्ती छ, जसमा एक भक्तपुरेले आफ्नो लागि नभई सम्पूर्ण सहरवासीको कल्याणका लागि लक्ष्मीबाट वरदान मागेका थिए।
यस्तो सामुदायिक भावनाले भरिएको यो सहरमा हरेक टोलले आफ्नो सांस्कृतिक पहिचान बोकेको छ। गाईजात्रा, नाचजात्रा, र विभिन्न सांस्कृतिक झाँकीहरूले भक्तपुरको जीवन्तता झल्काउँछ। यही सहरको मुटुमा रहेका पोखरीहरूले भक्तपुरको सौन्दर्य र जीवनशैलीलाई थप समृद्ध बनाएका छन्।
यी पोखरीहरू केवल पानीको स्रोत मात्र होइनन्, बरु धार्मिक, सामाजिक, र प्राकृतिक महत्वका प्रतीक हुन्। तीमध्ये रानीपोखरी एक यस्तो पोखरी हो, जसले भक्तपुरको प्राकृतिक र सांस्कृतिक सम्पदालाई एकसाथ प्रतिनिधित्व गर्छ। यो लेखमा हामी रानीपोखरीको इतिहास, प्राकृतिक महत्व, सांस्कृतिक मूल्य, र यसको संरक्षणमा देखिएका चुनौतीहरूबारे विस्तृत चर्चा गर्नेछौं।
भक्तपुर र पोखरीहरूको महत्व
भक्तपुरको हरेक टोलमा सांस्कृतिक पहिचान छ, र यहाँका पोखरीहरूले सहरको जीवनशैलीलाई सजिलो बनाएका छन्। प्राचीनकालमा पोखरीहरूले खानेपानी, सिँचाइ, धार्मिक कार्य, र सामुदायिक गतिविधिका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। वर्षाको पानी जम्मा गरेर भूक्षय रोक्न, भूजल पुनर्भरण गर्न, र खानेपानीको स्रोत जोगाउन पोखरीहरू बनाइएका थिए।
यी पोखरीहरूले सहरलाई विपत्तिको समयमा पनि पानीको अभाव हुन दिएनन्।भक्तपुरलाई पोखरीको सहर पनि भनिन्छ, किनभने यहाँका हरेक पोखरीको आ–आफ्नै विशेषता र महत्व छ। कुनै पोखरी धार्मिक आस्थासँग जोडिएका छन् भने कुनै प्राकृतिक सन्तुलनका लागि बनाइएका छन्।
रानीपोखरी यस्तै एक पोखरी हो, जसले प्राकृतिक र सांस्कृतिक दुवै महत्व बोकेको छ। यो पोखरी भक्तपुरको पश्चिमी भागमा अवस्थित छ र यहाँ आउने पाहुनाहरूको स्वागत–सत्कारको प्रतीकको रूपमा पनि यो पोखरी चिनिन्छ।
रानीपोखरीको ऐतिहासिक पृष्ठभूमि
रानीपोखरी भक्तपुरको सबैभन्दा पुरानो र महत्वपूर्ण पोखरीहरू मध्ये एक हो। कतिपयले यो पोखरी काठमाडौंको रानीपोखरीभन्दा पनि जेठो भएको दाबी गर्छन्। यो पोखरी लामो समयसम्म सैनिक ब्यारेकको क्षेत्रभित्र रहेकाले सर्वसाधारणको पहुँचबाट टाढा थियो। स्थानीय प्रजापति समुदाय र भक्तपुर नगरपालिकाको अथक प्रयासपछि यो पोखरीको पुर्नजन्म भयो र सर्वसाधारणका लागि खुला गरियो।
पोखरीको पुर्नजन्मपछि यसको मौलिक सौन्दर्य र महत्व फेरि उजागर भएको छ। नगरपालिकाले पोखरीको मर्मतसम्भार र सौन्दर्यीकरण गरेपछि यो रानी नामजस्तै सुन्दर बनेको छ। पोखरीको वरपरको हरियाली, सफा पानी, र प्राकृतिक वातावरणले यहाँ आउने जोकोहीलाई लोभ्याउँछ। तर, यो पोखरी केवल भौतिक सौन्दर्यको प्रतीक मात्रै होइन, यो एक जीवन्त सिमसार क्षेत्र हो, जसले जैविक विविधताको संरक्षण गरेको छ।
रानीपोखरीको प्राकृतिक महत्व
रानीपोखरी एक प्राकृतिक सिमसार क्षेत्र हो, जसले जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। यो पोखरीमा नेपालमा लोपोन्मुख अवस्थामा रहेको हिले माछा (स्थानीय भाषामा) घउङा पाइन्छ। यी माछाहरू पोखरीको प्राकृतिक सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण छन्। पोखरीको पानीमा हरियो लेउ र पानीमुनिको घाँसले प्राकृतिक फिल्टरको काम गर्छ, जसले पानीलाई शुद्ध राख्छ।
यो लेउले पानीमा रहेका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्छ र माछाहरूको खानाको स्रोत पनि बन्छ। पोखरीको पानी यति सफा छ कि तलको माटोसम्म देखिन्छ। पानीमाथिको हरियो लेउ, पानीमुनिको घाँस, र त्यहाँ खेल्ने माछाहरूले रानीपोखरीलाई एक जीवन्त इकोसिस्टम बनाएका छन्। यो पोखरी तीनतिर गहिरो छ र डाँडामा अवस्थित छ, जसले यसलाई प्राकृतिक रूपमा पानी जम्मा गर्ने क्षमता प्रदान गर्छ। इतिहासदेखि नै यो पोखरीमा पानी कहिल्यै सुकेको रेकर्ड छैन, जुन यसको प्राकृतिक डिजाइनको उत्कृष्ट उदाहरण हो।
रानीपोखरी केवल माछाको बासस्थान मात्र होइन, यो चरा, चमेरो, र अन्य जीवजन्तुहरूको पनि आश्रयस्थल हो। बेलाबेला विभिन्न प्रजातिका चराहरू यहाँ पानी पिउन र बस्न आउँछन्। यो जैविक विविधताले रानीपोखरीलाई उपत्यकाकै एक अद्वितीय सिमसार क्षेत्र बनाएको छ । विश्वमा सिमसार क्षेत्रहरू पानीको मूल स्रोत र जैविक सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्, र रानीपोखरी त्यसको जीवन्त उदाहरण हो।
सांस्कृतिक र धार्मिक महत्व
रानीपोखरी केवल प्राकृतिक सम्पदा मात्र होइन, यो भक्तपुरको सांस्कृतिक र धार्मिक जीवनको अभिन्न अंग पनि हो। यो पोखरीमा प्रजापति समुदायको देवाली देवताको पूजा हुन्छ, जसले यसको धार्मिक महत्वलाई झल्काउँछ। भक्तपुरमा आउने पाहुनाहरूलाई स्वागत गर्न रानीपोखरीको विशेष स्थान छ। यहाँको पानीले सहरको जीवनशैलीलाई सहज बनाएको छ–चाहे त्यो नुहाउन, लुगा धुन, वा धार्मिक कार्यका लागि होस्।
भक्तपुरको संस्कृतिमा माछाको विशेष स्थान छ। नेवार समुदायमा माछा सगुन र पूजाको अभिन्न हिस्सा हो। नवरात्रिको नाचलाई ङालाकेगु (माछा मार्ने जात्रा) भनिन्छ, जसले माछाको सांस्कृतिक महत्वलाई दर्शाउँछ। रानीपोखरीमा पाइने हिले माछा यही सांस्कृतिक सम्पदाको जीवन्त प्रतीक हो। यो माछा केवल खाद्य स्रोत मात्र होइन, बरु भक्तपुरको इतिहास र परम्परासँग जोडिएको जीवन्त सम्पदा हो।
संरक्षणमा देखिएका चुनौतीहरू
रानीपोखरीको पुर्नजन्म र सौन्दर्यीकरणले यसको महत्वलाई पुनर्जागृत गरेको छ, तर यसको प्राकृतिक सन्तुलनमा केही चुनौतीहरू पनि देखिएका छन्। सबैभन्दा ठूलो चुनौती मिचाहा प्रजातिका माछाहरूको प्रवेश हो, जसले रैथाने हिले माछालाई विस्थापित गरिरहेको छ।
ठूला माछाले साना माछालाई खाने प्राकृतिक नियमले हिले माछा लोप हुने जोखिममा छ। यो माछा हजारौं वर्षदेखि रानीपोखरीमा जीवित थियो, तर नयाँ प्रजातिका माछाहरूको प्रवेशले यो जीवन्त सम्पदा संकटमा पर्ने हो कि भन्ने चिन्ता जागेको छ । लेखक: रामसुन्दर बके, पर्यटन व्यवसायी हुन
