भर्खरै : Sorry, your browser does not support inline SVG.
सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता | भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन |

बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन

बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन

काठमाडौं, २५ भदौ । विनाशकारी बाढीका कारण पढाइ प्रभावित भएपछि रसुवाको स्याफ्रुबेँसीका ५८ जना विद्यार्थीलाई तत्कालका लागि काठमाडौंमा व्यवस्थापन गरिएको छ ।

स्याफ्रुबेँसी माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई काठमाडौंको डल्लु, बिजेश्वरीस्थित गीता माता माध्यमिक विद्यालयमा अस्थायी रूपमा अध्ययनको व्यवस्था मिलाइएको हो ।

काठमाडौं ल्याइएका ५८ विद्यार्थीमध्ये २१ जना छात्र र ३७ जना छात्रा रहेका छन् । बाढीपछि उत्पन्न यातायातको असहजताका कारण विद्यार्थीहरू घर फर्किन तथा नियमित रूपमा विद्यालय जान सक्ने अवस्था नरहेपछि उनीहरूको पढाइलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो ।

नयाँ ठाउँमा बसेर अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले विद्यार्थीलाई विद्यालय झोला, शैक्षिक सामग्री, जुत्ता, मोजा तथा भित्री पोसाकसमेत उपलब्ध गराइएको छ । विद्यार्थीको शैक्षिक खर्चमा काठमाडौं महानगरपालिकाले सहयोग गरेको छ । त्यस्तै, विद्यार्थीलाई आश्रयस्थलबाट गीता माता माध्यमिक विद्यालयसम्म पुर्‍याउन एलआरआई विद्यालयले यातायातको व्यवस्था गरेको छ ।

विद्यार्थीको पुनर्स्थापना तथा पढाइलाई निरन्तरता दिन आवश्यक अन्य सहयोग करुणा फाउन्डेसन नेपालले उपलब्ध गराएको जनाइएको छ ।विद्यालयका प्रधानाध्यापक किशोरकुमार पुर्कोटीका अनुसार काठमाडौं ल्याइएका विद्यार्थीलाई तत्कालका लागि मात्र व्यवस्थापन गरिएको हो । उनीहरूलाई गीता माता माध्यमिक विद्यालयमा औपचारिक रूपमा भर्ना गरिएको छैन ।

उनका अनुसार स्याफ्रुबेँसी माध्यमिक विद्यालयको भवनमा बाढीले क्षति पुर्‍याएको छैन । यातायातको असहजताका कारण मात्रै विद्यार्थीहरूलाई काठमाडौंमा राखिएको हो । उनले यातायात सहज हुनासाथ सबै विद्यार्थीलाई स्याफ्रुबेँसी फिर्ता लैजाने बताए ।

बाढीका कारण विद्यार्थीको पढाइ प्रभावित हुनुका साथै उनीहरूमा मानसिक असरसमेत पर्न सक्ने भएकाले तत्काल सुरक्षित वातावरणमा राखेर अध्ययनलाई निरन्तरता दिने उद्देश्यले काठमाडौंमा व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.