बोक्सी आरोपमा महिलामाथि कुटपिट र अमानवीय व्यवहार
जबर्जस्ती मलमुत्र खुवाइएको घटना सार्वजनिक
एक जना आरोपी पक्राउ, अन्यको खोजी जारी
पीडितले प्रहरीमा जाहेरी दिएपछि कारबाही प्रक्रिया सुरु
घटनाबारे थप अनुसन्धान जारी
रौतहट, २१ बैशाख । रौतहटको कटहरिया नगरपालिकामा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट र अमानवीय व्यवहार गरिएको घटनामा एक जना पक्राउ परेका छन्।
कटहरिया नगरपालिका–९ डुमरिया टोलमा शनिबार भएको घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार स्थानीय केही व्यक्तिहरूले ५५ वर्षीया महिलालाई ‘बोक्सी’को आरोप लगाउँदै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए।
घटनाका क्रममा पीडित महिलालाई जबर्जस्ती मलमुत्र खुवाइएको समेत खुलेको छ, जुन अत्यन्त अमानवीय र अपमानजनक कार्य भएको प्रहरीले जनाएको छ। पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा घटनामा संलग्नमध्येका शंकर माझीलाई तत्कालै पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहट का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ। पक्राउ परेका माझीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
