भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

अघिल्लो पटक मोदीको रातो कार्पेट पाएकी परराष्ट्रमन्त्री देउवालाई कसैले भेट्नै मानेनन्

अघिल्लो पटक मोदीको रातो कार्पेट पाएकी परराष्ट्रमन्त्री देउवालाई कसैले भेट्नै मानेनन् image

काठमाडौं । परराष्ट्रमन्त्रीको पदभार ग्रहण गर्नेवित्तिकै आरजु देउवाको नयाँदिल्ली भ्रमण भएको थियो । उनलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको थियो । चार महिनापछि पुस ४ गते उनी युरोप भ्रमण छोट्याएर पुनः दिल्ली पुग्दा उनलाई रातो कार्पेट त के भेट्नसमेत कसैले मानेनन् । पहिलो भ्रमण र अहिलेको भ्रमणमा केबल महिना र मिति मात्र फेरिएको छैन । दुई देशबीचकै समग्र राजनीतिक वातावरण र मनस्थितिसमेत फेरिएको चर्चा चलेको छ ।

चार महिनाअघि भ्रमणमा उनले आफ्ना भारतीय समकक्षी डा एस जयशंकरसँग भेट मात्र गरिनन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो भेटवार्ता गर्न भ्याएकी थिइन् । भेटलगत्तै उनको राजनीतिक व्यक्तित्वसमेत हलक्कै बढेको देखियो । अझ प्रधानमन्त्री केपी शर्मा ओलीले उनी भविष्यमा महिला प्रधानमन्त्री हुने घोषणा गरे। यसपालि भने परराष्ट्रमन्त्री राणाले चाहेर पनि समकक्षीसमेतलाई भेट्न सकिनन् ।

मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनसँग बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारत चिढिएको छ। प्रधानमन्त्री ओलीले परम्परा तोड्दै पहिलो विदेश भ्रमणका लागि चीन रोज्नुलाई पनि भारत चिढिनुको अर्को कारण परराष्ट्रका जानकारहरूको छ । प्रधानमन्त्रीको भारत भ्रमणको साइत जुराउनकै लागि परराष्ट्रमन्त्री युरोपबाट सिधै दिल्ली अवतरित भएकी थिइन् ।

चिढिएको भारतीय सत्तापक्षलाई विश्वासमा लिन उनले आफ्नो युरोप भ्रमण छोट्याउँदै दिल्ली भ्रमण रोजेकी थिइन् । बिआरआई हस्ताक्षरपछि भारतीय पक्षलाई विश्वासमा लिएर जसरी पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउने योजना थियो । जसअनुरूप दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्रीसँग भेटघाट मिलाउन निर्देशन दिएकी थिइन्।

सँगै उनले व्यक्तिगत रूपमा पनि डा जयशंकरलाई भेट्न आग्रह गर्दै वाट्सएपमा म्यासेज पठाएकी थिइन्। डिसेम्बर १९ को बिहानै दिल्ली पुग्ने र सबैसँग भेटेर प्रधानमन्त्रीको भारतभ्रमण तय गरेर फर्कने कार्ययोजना बनेको थियो । यसैका लागि परराष्ट्रमन्त्री देउवाले आफ्ना निकटवर्ती उद्धव प्याकुरेललाई दिल्लीमा एउटा कार्यक्रमसमेत आयोजना गर्न लगाएको स्रोतले बतायो। दिल्लीको एउटा गैरसरकारी संस्थासँग मिलेर काठमाडौँ विश्वविद्यालयको एक विभागले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्‍यो। मंसिर २२ अर्थात् डिसेम्बर ७ तारिखमा युरोप प्रस्थान गरेकै दिन मन्त्री देउवाले एस जयशंकरलाई म्यासेज गरेको स्रोतले बतायो।

तर म्यासेजको १५ डिसेम्बरसम्म पनि जवाफ नआएपछि उनी निराश हुँदै आफ्ना ‘राखीभाइ’ विजय चौथाइवालेलाई म्यासेज गरेर भेट्न आग्रह गरेकी थिइन्। बाहिर निजी भ्रमण र स्वास्थ्य उपचारका लागि भ्रमण भने पनि उनको इच्छा यो भ्रमणलाई आधिकारिक बनाउने थियो। तर भारतीय सत्तापक्षले खासै चासो नदिएपछि उनको भ्रमण निजीमै सीमित हुन पुगेको स्रोतले बतायो। मन्त्री देउवा दिल्ली पुग्दा उनलाई विमानस्थलमा स्वागत गर्न नेपाली दूतावासका कर्मचारी पुगेका थिए। भारतका तर्फबाट विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने उपसचिव अमित मिश्र प्रोटोकलका लागि उपस्थित थिए।

उनलाई न त सुरक्षा प्रदान गरिएको थियो न उनका लागि गाडीको व्यवस्था गरिएको थियो। उनले पटकपटक आग्रह गर्दा र नेपाली दूतावासले लगातार प्रयास गर्दा पनि भारत सरकारका कसैले पनि आरजुलाई भेट दिएनन्। पछिल्लो पटक प्रधानमन्त्री मोदीलाईसमेत भेटेकी आरजुलाई यस पटक डोभाल, जयशंकरलगायतले भेटेनन्। यहाँसम्म कि दिल्लीस्थित नेपाल डेस्क हेर्ने एडिसनल सेक्रेटरी मनु महवारले पनि भेट्न मानेनन्। गजबको कुरा के रह्यो भने आरजु देउवा दिल्ली पुगेकै दिन नेपाल डेस्क हेर्ने महवारले कार्यवाहक राजदूत सुरेन्द्र थापालाई आफ्नै कार्यकक्षमा भेटे तर आरजुलाई भेट्न मानेनन्।

डोभाल चीनबाट फर्केर आएपछि प्रधानमन्त्री मोदीसँग कुवेत भ्रमणमा हिँडे। विदेशमन्त्री जयशंकर पनि कुवेततिरै गए। विदेश सचिव विक्रम मिश्री मौरिसस गएर फर्किए। यी सबै भेटघाटमा नेपाली दूतावासलाई ‘वि विल अपडेट यु’ मात्रै भनियो। कसैले भेट्न नमानेपछि मन्त्री देउवाले आफ्नो भ्रमण दुई दिन अझै लम्ब्याइन्। उनलाई के विश्वास थियो भने कुवेतबाट फर्केर विदेशमन्त्री जयशंकर र सुरक्षा सल्लाहकार अजित दोभालले पक्कै पनि भेट्छन्।

यसैबीच आरजुले, ‘रअ’का चिफ रवि सिन्हादेखि लिएर नेपाल डेस्क हेर्ने सहसचिवलाई समेत भेट्ने आग्रह गरिन् तर कसैसँग भेट्ने कार्यक्रम जुरेन। अन्तिम दिन काठमाडौँ फर्किनुभन्दा पहिले उनी इन्डिया फाउन्डेसनले आयोजना गरेको परिचयात्मक कार्यक्रममा सहभागी भइन्। जहाँ उनको भेटघाट राममाधवसँग भयो। भाजपाका पूर्वसचिव राममाधव र उनको पुरानो चिनजान भएकाले उनले भेट्न बोलाएको स्रोतले बतायो। राममाधव अहिले भाजपा र राष्ट्रिय स्वयंसेवक संघको कुनै दायित्वमा नरहेको बताइएको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda