भर्खरै : Sorry, your browser does not support inline SVG.

रोहिंगिया घुसपैठको आशङ्कामा जोगवनी नाकामा कडाइ, परिचयपत्र अनिवार्य

रोहिंगिया घुसपैठको आशङ्कामा जोगवनी नाकामा कडाइ, परिचयपत्र अनिवार्य

मुख्य बुँदा 

जोगवनी नाकामा नेपाल प्रवेश गर्नेहरूका लागि परिचयपत्र अनिवार्य गरिएको छ ।

मोरङ जिल्ला सुरक्षा समितिको निर्णयपछि सीमा निगरानी कडा बनाइएको छ ।

अवैध घुसपैठ र आपराधिक गतिविधि रोक्न चेकिङ कडाइ गरिएको हो ।

रोहिंगिया घुसपैठ हुन सक्ने आशङ्कामा विशेष सतर्कता अपनाइएको दाबी ।

कलकत्ता–जोगवनी रेलमार्गलाई मुख्य जोखिम क्षेत्र मानिएको छ ।

रेल आउने समयमा विशेष सुरक्षा जाँच र निगरानी व्यवस्था लागू गरिएको छ ।

तालिमप्राप्त कुकुरसहित सुरक्षा टोली परिचालन गरिएको छ ।

फरार कैदीहरूको आवतजावत रोक्न पनि निगरानी बढाइएको छ ।

विराटनगर, २७ बैशाख । मोरङको सीमावर्ती क्षेत्र जोगवनी नाकामा सुरक्षा निगरानी कडा पारिएको छ । नेपाल प्रवेश गर्ने सबैका लागि परिचयपत्र अनिवार्य गरिएको छ । मोरङ जिल्ला सुरक्षा समितिको बैठकले अवैध घुसपैठ र आपराधिक गतिविधि रोक्न यस्तो निर्णय गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार यो निर्णय नेपाल–भारतबीचको कुनै औपचारिक सहमति नभई पूर्ण रूपमा आन्तरिक सुरक्षा सतर्कता हो । उनले सीमामा अवैध घुसपैठको सम्भावना देखिएकाले चेकजाँच कडा बनाइएको बताए ।

सुरक्षा स्रोतका अनुसार भारतको पश्चिम बंगालमा राजनीतिक परिवर्तनपछि रोहिंगिया मुस्लिमहरू विस्थापित भएर नेपाल छिर्न सक्ने आशङ्का गरिएको छ । भारतीय सञ्चारमाध्यममा समेत यसबारे विभिन्न दाबी र भिडियोहरू सार्वजनिक भइरहेका छन्, यद्यपि यसको आधिकारिक पुष्टि नभएको स्रोतको भनाइ छ ।

प्रशासनले विशेषगरी कलकत्ता–जोगवनी रेलमार्गबाट ठूलो संख्यामा मानिस प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी बढाएको छ । रेल आउने समयमा परिचयपत्र जाँच कडा बनाइएको र आवश्यक परे विशेष सुरक्षा उपाय अपनाइने बताइएको छ ।

यसका साथै सीमामा अवैध घुसपैठ रोक्न तालिमप्राप्त कुकुरसहितको सुरक्षा टोली पनि परिचालन गरिएको छ । फरार कैदीहरूको आवतजावत रोक्नु पनि निगरानी बढाउनुको अर्को कारण रहेको प्रशासनले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.