भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण

साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो ।

गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सोमबहादुर आलेले जानकारी दिए ।

“चार किलोमिटर कुलोमध्ये गत वर्ष पाँच सय ७० मिटर र चालु आर्थिक वर्षमा पाँच सय ६५ मिटर पक्की नहर निर्माण भएको छ”, उनले भने, “सोताबाट मुहानतर्फ आगोवाङ भन्ने ठाउँसम्म पक्की नहर बनाइएको छ । थप तीन किलोमिटर बढी पक्की नहर बनाउन आवश्यक छ ।”

साम्तुङ–सोता सिँचाइ आयोजनालाई गण्डकी प्रदेश सरकारले आव २०७९(८० र २०८०÷८१ का लागि रु २०–२० लाख बजेट विनियोजन गरेको थियो । मङ्गला गाउँपालिकाको सिमाना भएर बग्ने अर्चेखोलाको मुहानबाट पठाएको पानी सोता पुग्दा सोसिएर थोरैमात्र पुग्ने समस्या भएपछि पक्की नहर बनाउन थालिएको सोतावासी सर्वलाल थापाले बताए ।

यो आयोजनाबाट अर्चेखोला, आगोवाङ, सोतामा एक सयजनाभन्दा बढी किसानको एक हजार रोपनी क्षेत्रफल जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उनले बताए । गत फागुन महिनादेखि सुरु गरेको नहर निर्माणको सम्झौताअनुसारको काम सकेर सोमबार बिहानदेखि पानी चलाउन थालिएको उपभोक्ता समितिले जनाएको छ ।

पक्की नहर बनेपछि धानको ब्याड राख्न, मकै, गहुँमा सिँचाइ गर्न र समयमै रोपाइँ गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर रोकाले बताए । साम्तुङ–सोता सिँचाइ आयोजनालाई पञ्चवर्षीय योजनाका रूपमा पूर्णता दिन गण्डकी प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पहल गरेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए ।

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आवमा जिल्लामा ६० वटा सिँचाइ आयोजना सञ्चालन गरेको छ । अधिकांश आयोजनामार्फत कच्ची कुलोलाई पक्की बनाइएको र पाइप लाइन जडान भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए ।

अन्ठाउन्न योजना उपभोक्ता समिति र दुईवटा बहुवर्षीय ठेक्कामार्फत कार्यान्यन्वयन गरिएको छ । उपभोक्ता समितिसँग सम्झौता भएका सबै योजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका सबइन्जिनियर अञ्जन खत्रीले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.