भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए । जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले यही जङ्गललाई बासस्थान बनाउने गरेका छन् ।

हात्तीबाहेक जङ्गलमा बस्ने बाँदरबाट पनि जङ्गल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् । जङ्गली जनावर जङ्गलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो ।

आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उनले बताए । हाल जङ्गलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ । दिउँसो जुकेखाडी जङ्गलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जङ्गलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताए ।

उनले भने, “आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जङ्गलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ ।” समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन् । जङ्गलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा सङ्कलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बाँसलगायत बिरुवा रोप्ने गरेका जानकारी दिए । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उनले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.