भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज मध्यपुर थिमी नगरपालिकाको थिमी चोक स्थित प्रतिमामा माल्यार्पण गर्दै प्रचण्डले यस्तो बताएका हुन ।
नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याएको योगदानको चर्चा गर्दै सबैका लागि प्रेरणादायी रहेको स्रोत भएको प्रधानमन्त्रीले बताए । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेको बताए ।
भिडियो…
आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उनले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरे । शंखधर साख्वा इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको उनको भनाइ छ ।
विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम रहेको चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्छ भने। नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गरिनुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको र नेपालीको आफ्नै मौलिक संवत् नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको उनले बताए ।
प्रधानमन्त्रीले भने, ‘सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विसंसँगै नेसं पनि उल्लेख गर्नुपर्ने निर्णय भएकामा तपाईंहरू सबैलाई बधाई तथा शुभकामना भन्न चाहन्छु, यसले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्यायसहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाइमा उठाएको छ, यो हामी सबै नेपालीले गर्व गर्नुपर्छ।’
प्रधानमन्त्रीले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित रही उच्च प्राथमिकता साथ काम गर्दै आएको बताए। आजको दिनले नयाँ सन्देश दिने जनाउँदै प्रधानमन्त्री दाहालले नेसं ११४४ को शुभकामनासमेत व्यक्त गरे ।
