सिद्धबाबा सुरुङ ६५ प्रतिशत सम्पन्न, २०८३ भित्र सञ्चालनमा ल्याउने लक्ष्य

सिद्धबाबा सुरुङ ६५ प्रतिशत सम्पन्न, २०८३ भित्र सञ्चालनमा ल्याउने लक्ष्य

मुख्य बुँदा

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत पुगेको

११२६ मिटर लामो मुख्य सुरुङको खुदाइ सम्पन्न

तीनवटा पाइपास सुरुङको निर्माण पनि पूरा

२३९८ मिटर सडक स्तरोन्नति कार्य जारी

मुख्य सुरुङ सञ्चालनपछि मात्र रक सेड निर्माण सुरु हुने

मन्त्री कुलमान घिसिङद्वारा निर्माण कार्यलाई तीव्रता दिन निर्देशन

७ अर्ब ३४ करोड रुपैयाँ लागतमा इपिसी मोडलमा निर्माण

चैत २०८३ भित्र सुरुङ सम्पन्न गर्ने लक्ष्य

काठमाडाैं, ७ पुष । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। आयोजनाको वित्तीय प्रगति भने ५६ प्रतिशत रहेको छ।

११२६ मिटर लम्बाइ रहेको मुख्य सुरुङको निर्माण सम्पन्न भइसकेको छ। यस्तै, १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीनवटा पाइपास सुरुङको निर्माण पनि पूरा भएको छ। हाल सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन्।

आयोजनाअन्तर्गत कुल २३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्ने छ। पहिरो तथा ढुंगा खस्नबाट हाल सञ्चालनमा रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइको रक सेड निर्माण बाँकी रहेको छ।

मुख्य सुरुङबाट सवारी साधन सञ्चालन सुरु भएपछि मात्र रक सेड निर्माणको काम थालिने आयोजनाले जनाएको छ। आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङ निर्माणस्थलको अनुगमन गर्दै निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासहित आयोजनास्थल पुगेका मन्त्री घिसिङले आयोजना, परामर्शदाता र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी विषय तत्काल टुंग्याउन आग्रह गरे।

समयमै निर्णय नगर्दा आयोजनामा ढिलाइ हुन नहुने उल्लेख गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीले माग गरेको १९ महिनाको म्याद थपसम्बन्धी विषयमा पनि शीघ्र निर्णय गर्न निर्देशन दिए।

समयमै साइट उपलब्ध नहुनु, वन कटानमा ढिलाइ तथा अग्रिम भुक्तानीमा भएको ढिलाइजस्ता कारण देखाउँदै म्याद थप माग गरिएको जनाइएको छ।इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडलमा सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो।

सम्झौताअनुसार चैत २०८३ भित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्ने छ। त्यसपछि निर्माण कम्पनीले १८२५ दिनसम्म सुरुङ सञ्चालन तथा मर्मतसम्भार गर्नेछ। सुरुङ निर्माण नेपाल सरकारको आफ्नै स्रोतबाट भइरहेको हो।

सिद्धबाबा क्षेत्रमा वर्षायाम तथा हिउँदमा ढुंगा खस्ने, माटो बगेर आउने र सुख्खा पहिरो जाने समस्या रहँदै आएको छ, जसका कारण पटक–पटक दुर्घटना भई मानवीय क्षति हुने गरेको छ।

वर्षायाममा समस्या झनै विकराल बन्दै घण्टौँसम्म यातायात अवरुद्ध हुने अवस्था सिर्जना हुने गरेको छ।

यस्ता समस्या समाधान गर्न निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्ग सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यातायात सुविधा उपलब्ध हुने, समय र दूरी घट्ने तथा दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.