काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको हो ।
पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान गर्न सिरोहियालाई जिल्ला अदालत, धनुषाले मंगलबार पक्राउ गर्न अनुमति दिएको थियो ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा १६ वैशाख २०८१ जाहेरी दिएका थिए । सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न जाहेरीमा माग गरिएको थियो ।
धनुषाको जनकपुर लैजाने तयारी प्रहरीले गरेको छ । सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको सिरोहियाले प्रतिक्रिया दिएका छन् ।