विद्यार्थीहरुलाई शैक्षिक ऋणसम्बन्धी कार्यक्रम सम्पन्न, विद्यार्थीमा कठिन मेहेनत र परिश्रम आवश्यक

विद्यार्थीहरुलाई शैक्षिक ऋणसम्बन्धी कार्यक्रम सम्पन्न, विद्यार्थीमा कठिन मेहेनत र परिश्रम आवश्यक

भक्तपुर । भक्तपुर नगरका विद्यार्थीहरुलाई शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले बौद्धिक जनशक्ति उत्पादन गरी देश विकासमा महत्वपूर्ण योगदान पुर्याउन नगरपालिकाअन्तर्गत विभिन्न विषयका शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको बताए ।

भक्तपुर नपाले शिक्षा क्षेत्रको विकासमा गरेको लगानी उपलब्धीपूर्ण भएको बताउँदै उहाँले कामदार वर्गको हितमा काम गर्ने नीतिअनुरुप भनपाले काम गरिरहेको बताए । शारीरिक र बौद्धिक श्रमले देश विकासमा टेवा पुर्याउने बताउँदै प्रमुख प्रजापतिले युवा जनशक्ति विदेशिँदा र यहाँ प्राप्त स्रोतसाधनको उचित प्रयोग नहुँदा देश विकासमा झन् झन् पछाडि पर्दै गएको बताए ।

श्रमको सम्मान र इज्जत गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीहरुमा कठिन मेहेनत र परिश्रम आवश्यक भएको र कसैको नक्कल नगरी आफ्नै शैलीमा आफ्नो विकास गर्नुपर्ने धारणा राखे । भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरुले अध्ययन गर्ने सबै विषयहरु समान ढंगले महत्वपूर्ण भएको भन्दै विद्यार्थीहरुमा श्रमलाई सम्मान गर्ने बानीको विकास गर्नु आवश्यक भएको बताए ।

उच्च शिक्षा अध्ययन गरी स्वदेशको सेवा गर्ने उद्देश्यले विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने बताउँदै उनले सर्टिफिकेट सँगसँगै हातमा सीप भएका व्यक्तिहरुले व्यक्तित्व विकासमा छिटो अवसर पाउने बताए । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले सबै विषयहरु अध्ययन अध्यापनको व्यवस्था नपाबाट सञ्चालित कलेजहरुमा गरिरहेको बताए ।

शैक्षिक ऋणलाई ऋणको रुपमा नभई नगरबासी विद्यार्थीहरुलाई नपाले प्रदान गरेको सुविधाको रुपमा लिई यसको उचित सदुपयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५सम्बन्धी व्यवस्था, शैक्षिक ऋण माग गर्न आवश्यक प्रक्रिया, ऋणको सीमा र शर्त, ऋणको साँवाब्याज असुली आदिबारे प्रष्ट पारे ।

आ.व. २०८०, ८१ मा भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक योग्यता (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याजदरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण प्रदान गर्ने सम्बन्धमा आदेवन पर्न आएकामध्ये अन्तरवार्ताबाट १०१ जना विद्यार्थीहरु छनोट भएका थिए ।

छनोट हुनेमा भनपा वडा नं. १ का ३ जना, भनपा २ का १५ जना, भनपा ३ का ११ जना, भनपा ४ का १५ जना, भनपा ५ का १० जना, भनपा ६ का १६ जना, भनपा ७ का १२ जना, भनपा ८ का ७ जना, भनपा ९ का ४ जना र भनपा १० का ८ जना रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.