भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुदूरपश्चिममा गिद्धको सङ्ख्या बढ्दा संरक्षणकर्मी उत्साहित

सुदूरपश्चिममा गिद्धको सङ्ख्या बढ्दा संरक्षणकर्मी उत्साहित

कञ्चनपुर, २९ भाद्र । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा बढ्दै गएको पाइएको छ। गिद्धको बढ्दो सङ्ख्या वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ।

नेपाल पन्छी संरक्षण संघ (बीसीएन) को वार्षिक गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या १५५ पुगेको छ। गत वर्ष १४३ मात्र सक्रिय गुँड फेला परेका थिए।

यसपटक कञ्चनपुरमा १२६, बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात वटा गुँड फेला परेका छन्। कञ्चनपुर र डडेल्धुरामा गुँड संख्या बढेको भए पनि बैतडी र कैलालीमा केही कमी आएको देखिन्छ।

गिद्ध गणना सेप्टेम्बर ५ देखि ७ सम्म सम्पन्न गरिएको थियो। गणनामा ४८ स्वयंसेवक संलग्न रहे। यस अवधिमा सुदूरपश्चिमका विभिन्न जिल्लामा जम्मा ५७३ गिद्ध फेला परेका छन्। तीमध्ये डङ्गर गिद्ध ४४२, हिमाली गिद्ध ९४, सुन गिद्ध १४, सानो खैरो नौ, गोव्रे नौ र हाडफोर पाँचवटा थिए।

गिद्धलाई ‘प्रकृतिको कुचीकार’ पनि भनिन्छ, किनभने उनीहरूले मरेका जनावरको सिनो खाएर वातावरणलाई दुर्गन्धित र प्रदूषित हुनबाट जोगाउँछन्। यसले हैजा, आउँ, रेबिज, क्षयरोगजस्ता रोग फैलिनबाट रोकथाम गर्न मद्दत पुर्‍याउँछ।

संरक्षणकर्मीका अनुसार गिद्ध अझै पनि संवेदनशील अवस्थामा छन्। पशु उपचारमा प्रयोग हुने हानिकारक औषधि (जस्तै डाइक्लोफेनेक), गुँड नष्ट हुने गतिविधि, बासस्थान अतिक्रमण र वातावरणीय असन्तुलन गिद्ध संरक्षणका प्रमुख चुनौती हुन्।

गिद्धको सङ्ख्या बढ्नु सकारात्मक संकेत भए पनि दीर्घकालीन संरक्षण रणनीति आवश्यक छ। गुँड संरक्षण, सुरक्षित औषधिको प्रयोग, बासस्थान व्यवस्थापन र स्थानीय समुदायलाई संरक्षणमा सक्रिय सहभागी गराउन सके मात्र गिद्धको अस्तित्व दीर्घकालीन रूपमा सुरक्षित हुने संरक्षणकर्मीहरूको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.