काठमाडौं, २३ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहानसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो ।
कार्यालयका अनुसार हाल नौ वटा वाणिज्य बैंकमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको रकममध्ये यसअघि १ अर्ब रुपैयाँ रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको कार्यालयले जनाएको छ ।
यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ जम्मा भएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट कोषमा रकम जम्मा हुँदै आएको छ ।
