भर्खरै : Sorry, your browser does not support inline SVG.

डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी

डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौं, २३ भदौ । डढेलो र अत्यधिक गर्मीका कारण विश्वभर वायु प्रदूषणको जोखिम बढ्दै गएको विश्व मौसम संगठनले जनाएको छ ।संगठनले सार्वजनिक गरेको वार्षिक ‘वायु गुणस्तर तथा जलवायु बुलेटिन’मा वायु प्रदूषण र जलवायु परिवर्तनबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ ।

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी तथा डढेलोको आवृत्ति र तीव्रता बढ्दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भइरहेको संगठनले जनाएको छ । डढेलोबाट निस्कने धुवाँ हावासँगै टाढासम्म फैलिन सक्ने भएकाले आगलागी भएको स्थानभन्दा धेरै टाढाका मानिस तथा वन्यजन्तुसमेत प्रभावित हुन सक्ने बताइएको छ ।

अध्ययनअनुसार सन् १९९० को दशकयता अत्यधिक डढेलोबाट उत्पन्न धुवाँका घटना तीन गुणासम्म बढेका छन् । त्यसैगरी, अत्यधिक गर्मीका समयमा सतहनजिकको ओजोन प्रदूषणसमेत बढ्न सक्ने विज्ञहरूले बताएका छन् । ओजोन प्रदूषण तथा डढेलोको धुवाँले विशेषगरी श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।

डढेलोबाट निस्कने धुवाँमा २.५ माइक्रोमिटरभन्दा साना सूक्ष्म कण हुन्छन् । यस्ता सूक्ष्म कण फोक्सोको गहिराइसम्म पुग्नुका साथै रक्तसञ्चार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले मानव स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छन् । यसका अतिरिक्त कालो कार्बन र सूक्ष्म प्लास्टिक पनि वातावरणका लागि बढ्दो चुनौती बनेका छन् ।

कालो कार्बन हिउँ तथा बरफमा जम्मा हुँदा त्यसको पग्लिने प्रक्रिया तीव्र बनाउने गर्छ । त्यस्तै, सूक्ष्म प्लास्टिक हावा, माटो र समुद्रमा फैलिँदै गएको भन्दै वातावरणीय चिन्ता बढेको छ । विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणलाई छुट्टाछुट्टै विषयका रूपमा नभई संयुक्त रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

संगठनले वायु प्रदूषण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि दीर्घकालीन नीति, प्रभावकारी निगरानी र समन्वित प्रयास आवश्यक रहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.