भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए

सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए

मुख्य बुँदा

नारायणी नदीको बहाव बढेपछि सुस्तामा डुबानको जोखिम।

स्थानीयवासीले अस्थायी तटबन्ध निर्माण सुरु गरे।

माटो, बालुवा, बोरा र नाइलनको डोरी प्रयोग गरेर बाँध निर्माण।

सिँचाइ कार्यालयले आवश्यक सामग्री उपलब्ध गरायो।

प्रशासनका अनुसार अस्थायी संरक्षण कार्य जारी।

स्थानीयले दीर्घकालीन स्थायी तटबन्ध निर्माणको माग गरेका छन्।

बुटवल, २१ साउन । नारायणी नदीको बहाव बढ्दै गाउँबस्तीमा पानी पस्ने जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। डुबान र नदी कटानबाट बस्ती जोगाउन स्थानीयले दिनरात माटो र बालुवाका बोरा प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिरहेका छन्।

स्थानीयवासीले बोरामा माटो तथा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै नदी किनारमा अस्थायी तटबन्ध बनाइरहेका छन्। केही दिनअघि स्थानीयले बनाएको यस्तै अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काइदिएको आरोप सार्वजनिक भएपछि सुस्ता क्षेत्रको समस्या थप चर्चामा आएको थियो।

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सुस्ता गाउँपालिका–५ को सुस्ता थारुटोलदेखि सीमास्थल मानिने सिमलको रुख आसपाससम्म स्थानीयवासी तटबन्ध निर्माणमा सक्रिय छन्। अभियानकी नेतृ लैला बेगमको नेतृत्वमा पनि स्थानीयले नदी कटान रोक्न निरन्तर काम गरिरहेका छन्।

स्थानीय तहको पहलमा तत्कालका लागि अस्थायी संरक्षणको काम अघि बढाइएको र अहिलेको मुख्य उद्देश्य गाउँबस्तीलाई डुबान र कटानबाट जोगाउनु रहेको जैसवालले बताए।

यसअघि नारायणी सिँचाइ तथा जलउत्पन्न प्रकोप व्यवस्थापन आयोजनामार्फत स्थायी तटबन्ध निर्माण प्रक्रिया अघि बढाइएको भए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले माथिल्लो तहको अनुमति आवश्यक रहेको भन्दै निर्माणमा अवरोध गरेको आरोप स्थानीयले लगाएका छन्।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले नदी कटान रोक्न अस्थायी बाँध निर्माण भइरहेको पुष्टि गर्दै स्थानीयसँगको छलफलपछि तत्काल संरक्षणका उपाय अपनाइएको जानकारी दिए। भारतीय पक्षसँग पनि विपद् न्यूनीकरणका लागि गरिने अस्थायी संरचनाप्रति मौखिक सहमति भएको उनले बताए।

डुबानको तत्काल जोखिमलाई ध्यानमा राख्दै नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले आवश्यक बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ। स्थानीयले आफ्नै स्रोत–साधनसमेत प्रयोग गर्दै अस्थायी तटबन्ध निर्माणलाई निरन्तरता दिएका छन्।

सुस्ताका बासिन्दाले वर्षायामभर नदीको बहाव नियन्त्रण र गाउँबस्तीको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन तथा स्थायी तटबन्ध निर्माणको आवश्यकता रहेको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.