काठमाडौँ, २७ चैत । टिकटकले ‘टिकटक फोर आर्टिस्ट्स’ नामको नयाँ प्लेटफर्म सुरु गरेको छ। यो प्लेटफर्मले कलाकारहरूलाई आफ्नो करियर निर्माणमा सघाउने लक्ष्य राखेको छ। कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्ने र श्रोताहरूसँग गहिरो सम्बन्ध बनाउने उपकरणहरू यो प्लेटफर्मले उपलब्ध गराउँछ।
‘टिकटक फोर आर्टिस्ट्स’ मार्फत कलाकारहरूले विभिन्न अभियानहरू सञ्चालन गर्न सक्छन्। जस्तै आफ्ना आगामी रचनाहरूको प्रचार गर्ने। यो सुविधाले उनीहरूलाई गीतको प्री–आर्डर प्रवर्द्वन गर्न र सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बलियो बनाउन अभियान चलाउन सहयोग गर्छ।
यसका साथै, कलाकारहरूले आफ्ना पोस्ट र गीतहरूको प्रदर्शनको डेटा पनि प्राप्त गर्न सक्छन्। यो डेटाले उनीहरूलाई आफ्नो रणनीति सुधार्न र श्रोतासँग थप प्रभावकारी रूपमा जोडिन मद्दत गर्नेछ। अहिले यो प्लेटफर्म अष्ट्रेलिया, न्युजील्याण्ड, जापान, दक्षिण कोरिया र इन्डोनेशियामा परीक्षणको चरणमा छ। टिकटकले भविष्यमा यो सुविधालाई थप बजारहरूमा विस्तार गर्ने योजना बनाएको छ। विश्वभरका कलाकारहरूलाई उपलब्ध गराउने तयारी पनि भइरहेको छ।