भर्खरै : Sorry, your browser does not support inline SVG.

त्रिविको जग्गा निजी र सरकारी संस्थाको कब्जामा, आफ्नै सम्पत्तिबारे अनभिज्ञ विश्वविद्यालय !

त्रिविको जग्गा निजी र सरकारी संस्थाको कब्जामा, आफ्नै सम्पत्तिबारे अनभिज्ञ विश्वविद्यालय !

मुख्य बुँदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आफ्नो सम्पत्ति र जग्गाको अभिलेखमै अनभिज्ञ रहेको सरकारी प्रतिवेदनले देखायो।

विश्वविद्यालयकै पदाधिकारी र कर्मचारीको मिलेमतोमा जग्गा विभिन्न संस्थाले मनपरी कब्जा ।

त्रिविको नाममा ५,२१८ रोपनी जग्गा भए पनि ८४३ रोपनी विभिन्न संघ–संस्थाले भोगचलन गर्दै ।

गणतन्त्र स्मारक, बीपी कोइराला प्लानेटोरियम, कृषि बागवानी केन्द्र, प्रहरी वृत्त, ग्लोबल आइएमई बैंक, लायन्स क्लब, नेपाल बैंक लगायतलाई समेत जग्गा उपलब्ध।

लेबोरेटरी स्कुलले त्रिविको सहमति बिना जग्गा आफ्नो नाममा कायम गराउन मालपोतमा निवेदनसमेत दियो।

काठमाडौँ, २७ असोज । देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चल तथा अचल सम्पत्ति अलपत्र रहेको सरकारी प्रतिवेदनले देखाएको छ। त्रिवि आफ्नो नाममा कति जग्गा र भौतिक संरचना छ भन्नेमा समेत अनभिज्ञ रहेको प्रतिवेदनले औँल्याएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सार्वजनिक गरेको “त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१” अनुसार, त्रिविको नाममा रहेको जग्गामा निजी र धार्मिक प्रकृतिका १८ वटा संस्थाले रजाइँ गरिरहेका छन्।

विश्वविद्यालयकै पदाधिकारी र कर्मचारीको मिलेमतोमा यी जग्गा विभिन्न स्वार्थ समूहले आफूखुशी भोगचलन गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्रिविको स्वामित्वमा पाँच हजार २१८ रोपनी जग्गा रहेको प्रतिवेदनमा जनाइएको छ। यसमध्ये नैकापमा रहेको १२५ रोपनी जग्गाको स्रेस्ता अझै कायम हुन बाँकी छ।

लामो समयदेखि ८४३ रोपनी जग्गा विभिन्न सरकारी र गैरसरकारी संस्थाले भोगचलन गर्दै आएका छन्। केही जग्गा विश्वविद्यालयको स्वीकृतिबिना नै प्रयोग भइरहेको समितिले जनाएको छ। गणतन्त्र स्मारकलाई ६० रोपनी, बीपी कोइराला प्लानेटोरियमलाई १६० रोपनी, कृषि बागवानी केन्द्रलाई २८१ रोपनी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ रोपनी, काठमाडौँ उपत्यका खानेपानी बोर्डलाई १०७ रोपनी, महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई पाँच रोपनी, प्रहरी वृत्त कालीमाटी शाखा विस्तारका लागि चार रोपनी, नेपाल प्राध्यापक संघलाई ६ रोपनी १२ आना जग्गा दिइएको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंक, क्रिकेट रङ्गशाला, लायन्स क्लब इन्टरनेसनल तथा नेपाल बैंकलाई समेत गरेर ७६ रोपनी चार आना जग्गा त्रिविले उपलब्ध गराएको उल्लेख छ। लेबोरेटरी माध्यमिक विद्यालयले १०८ रोपनी, नेपाल नेत्रज्योति संघलाई १० रोपनी जग्गा २० वर्षका लागि भोगचलन गर्न २०७२ सालमा दिइएको थियो।

तर, लेबोरेटरी स्कुलले त्रिविको स्वीकृति नै नलिई उक्त जग्गा आफ्नो नाममा कायम गरिदिन मालपोत कार्यालय कलंकीमा निवेदन दिएको पनि समितिको प्रतिवेदनमा प्रष्ट उल्लेख गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.