भर्खरै : Sorry, your browser does not support inline SVG.

इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता

इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको दाबी गरेका छन् । इरानमाथि सैन्य आक्रमण गर्ने सम्भावित योजना फिर्ता लिएलगत्तै उनले युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति नजिक पुगेको बताएका हुन् ।

ह्वाइट हाउसस्थित ओभल अफिसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले अमेरिका र इरानबीच दीर्घकालीन समाधानका लागि महत्वपूर्ण समझदारी बनेको दाबी गरे । उनका अनुसार सम्झौताको मुख्य उद्देश्य इरानलाई भविष्यमा आणविक हतियार विकास गर्नबाट रोक्नु हो ।

ट्रम्पले सम्झौतासम्बन्धी आवश्यक कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै छिट्टै युरोपमा विशेष समारोहबीच हस्ताक्षर हुन सक्ने संकेत दिएका छन् । यद्यपि, इरानले भने सम्झौता भइसकेको भन्ने दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अधिकांश विषयमा सहमति भए पनि केही महत्वपूर्ण बुँदामा अझै मतभेद कायम रहेको बताएका छन् । उनका अनुसार अमेरिकाले थप सर्तहरू अघि सारेकाले वार्ता निष्कर्षमा पुग्न बाँकी छ ।

यसअघि ट्रम्पले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमाथि नियन्त्रण लिने र कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए । पछिल्ला साताहरूमा अमेरिका र इरानबीचको तनाव उल्लेखनीय रूपमा बढेको थियो ।

अमेरिकी अपाचे हेलिकप्टर खाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएपछि दुवै पक्षबीच प्रत्यक्ष सैन्य गतिविधि तीव्र बनेको थियो । अमेरिकी सेन्ट्रल कमाण्डले इरानका सैन्य तथा राडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको थियो भने जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको थियो ।

सो घटनाक्रमका क्रममा बहराइनमा एक ११ वर्षीया बालिका घाइते भएकी थिइन् । यस्तै, ओमानको खाडी क्षेत्रमा भएको सैन्य कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारतले अमेरिकी कूटनीतिक अधिकारीसँग स्पष्टीकरण मागेको जनाएको छ ।

यसैबीच, ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा सकारात्मक प्रभाव देखिएको छ । कच्चा तेलको मूल्य ४ दशमलव ४ प्रतिशतले घटेर ब्रेन्ट क्रुड प्रतिव्यारेल ८९ अमेरिकी डलरमा झरेको छ ।

ट्रम्पले सम्झौता सम्पन्न भएलगत्तै विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलसन्धि पुनः पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले समेत ट्रम्पको पहलको स्वागत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.