भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

तुइनखोला पहिरो रोकथाममा सरकारी ढिलाइ, वर्षायामअघि काम सुरु हुनेमा अन्योल

तुइनखोला पहिरो रोकथाममा सरकारी ढिलाइ, वर्षायामअघि काम सुरु हुनेमा अन्योल

मुख्य बुँदा

तुइन खोलाको पहिरो रोकथाममा तीन महिनाभन्दा बढी ढिलाइ

डिजाइन रिभ्यु प्रक्रियामै अल्झिएको सडक विभाग

गत असोजमा १,४०० घनमिटर पहिरो खसेको थियो

वर्षायामअघि काम सुरु गर्ने लक्ष्य

लाइफलाइन सडकमा जोखिम कायमै

काठमाडौँ, १७ पुष । देशकै प्रमुख लाइफलाइनका रूपमा रहेको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो नियन्त्रणमा सरकारी ढिलाइ देखिएको छ। गत असोज महिनामा पटक–पटक खसेको पहिरोले देशभरको यातायात तथा आपूर्ति प्रणाली प्रभावित पारे पनि तीन महिनाभन्दा बढी समय बितिसक्दा समेत रोकथामको ठोस काम सुरु हुन सकेको छैन।

गत असोज–कात्तिकमा तुइन खोलामा पटक–पटक खसेको सुक्खा पहिरोका कारण यात्रु र सवारी साधन घण्टौँसम्म जाममा बस्न बाध्य भएका थिए। सडक विभागले वर्षायाम सुरु हुनुअघि नै ठेक्का लगाएर काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म डिजाइन रिभ्युको चरणमै अल्झिएको छ। तत्काल रोकथामका लागि प्रारम्भिक अध्ययन बाहेक अन्य काम अघि बढ्न नसक्दा आउँदो वर्षायाममा पनि सडक अवरुद्ध हुने जोखिम कायमै रहेको देखिन्छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले तुइन खोलाको पहिरो पुरानै समस्या भएको र एक वर्षअघि डिजाइन तयार भइसकेको बताए। तर पछिल्लो पटक पहिरो गएपछि उक्त डिजाइनलाई पुनः रिभ्यु गरी नयाँ डिजाइन बनाउनुपर्ने बाध्यता आएको उनको भनाइ छ। हाल उक्त पहिरो व्यवस्थापनको जिम्मेवारी सडक डिभिजन भरतपुरले सम्हालिरहेको छ।

गत असोज ७ गते तुइन खोलामा विशाल पहिरो खसेको थियो, जसको प्रारम्भिक अनुमान १ हजार ४ सय घनमिटर रहेको थियो। उक्त पहिरो ९ गते राति मात्रै हटाएर यातायात सञ्चालनमा ल्याइएको थियो। त्यसयता ढुंगा खस्ने क्रम जारी रहे पनि मनसुन सकिएपछि हाल पहिरो खस्न छाडेको छ। यद्यपि जोखिम भने अझै कायम छ।

सडक डिभिजन भरतपुरले चालु आर्थिक वर्षभित्रै पहिरो व्यवस्थापनको ठेक्का लगाउने तयारी भइरहेको जनाएको छ। पहिरो रोकथामका लागि रक नेटिङ, एन्करिङ, बेन्चिङ वा अन्य विशेष भू–इन्जिनियरिङ समाधान आवश्यक पर्ने देखिएको छ। भौगोलिक जटिलताका कारण डिजाइन प्रक्रियामा समय लागेको विभागको दाबी छ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार पहिरो नियन्त्रणसम्बन्धी फाइल विभागमा पेस भइसकेको छ र डिजाइन कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। तुइन खोला पहिरो व्यवस्थापनको काम आउने वर्षायामअघि नै सुरु गर्ने लक्ष्य लिइएको उनले बताए।

उनका अनुसार विभागका विज्ञहरूले साइट निरीक्षण गरिसकेका छन् र डिजाइनलाई अन्तिम रूप दिनुअघि पुनः फिल्ड भेरिफिकेसन गरिनेछ। यसै वर्षभित्र ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गर्ने तयारी भइरहेको छ। यसबिच, देशको कमजोर वित्तीय अवस्था र बजेट कटौतीको असर पूर्वाधार निर्माणमा परेको छ। बजेट अभावका कारण अन्य आयोजनाहरू सुस्त भए पनि तुइन खोलाको समस्यालाई विभागले प्राथमिकतामा राखेको आचार्यले स्पष्ट पारे।

मुग्लिन–नारायणगढ सडकखण्डमा वर्षायाममा बारम्बार पहिरो खस्दा अर्थतन्त्र, पर्यटन र आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने गरेको छ। लाइफलाइन सडकखण्डको स्थायी समाधानमा ढिलाइ हुँदा यात्रु तथा यातायात व्यवसायीहरू चिन्तित बनेका छन्। यदि वर्षाअघि काम सुरु हुन सकेन भने यस वर्ष पनि उक्त सडकखण्डमा पहिरोको त्रास कायमै रहने देखिन्छ।


 


Thali Mobile Pvt.Ltd.