भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा |

कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्ध खोप अभियान

कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्ध खोप अभियान

भेरीगङ्गा । कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्पप्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो।

सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई टाइफाइडविरुद्धको तथा छ महिनादेखि १५ वर्ष उमेर समूहलाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्लामा टाइफाइडविरुद्धको खोप तत्काल दिइने छ भने हुम्ला, मुगु र डोल्पामा केही समयपछि मात्रै दिइने स्वास्थ्य महाशाखाका प्रमुख वृशबहादुर शाहीले जानकारी दिए। उनका अनुसार हुम्ला, डोल्पा र मुगुमा अहिले अत्यधिक चिसो भएकाले हिउँद सकिएपछि मात्रै अभियान सञ्चालन गरिने छ।

सुर्खेतमा मात्रै करिब दुई लाख बढीलाई आजदेखि टाइफाइडविरुद्ध खोप दिन सुरु गरिएको जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार दुई चरणमा गरी १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाख एक हजार नौ सय ६३ लाई खोप दिइने छ। पहिलोचरण आजदेखि १५ गतेसम्म सुर्खेतका चिङ्गाड, चौकुने र बराहाताल गाउँपालिका, लेकबेंसी र पञ्चपुरी नगरपालिकाका ६६ हजार एक सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने छ।

दोस्रोचरणमा वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाका एक लाख ३५ हजार आठ सय २८ लाई टाइफाइडविरुद्धको खोप दिइने जनस्वास्थ्य प्रमुख गौतमले जानकारी दिए। बाहिरी जिल्लाबाट विभिन्न सिलसिलमा प्रदेश राजधानी वीरेन्द्रनगरमा बसोबास गर्ने नागरिक पनि भएकाले सङ्ख्या केही बढ्नसक्ने उनको भनाइ थियो।

गर्भवती, एचआइभी सङ्क्रमित, जटिल खालका बिरामीलाई खोप नदिइने गौतमले बताए। उनका अनुसार सुर्खेतभरी पाँच सय ४८ खोप केन्द्रबाट खोप सेवा सञ्चालन गरिएको छ। खोप अभियानका लागि नौ सय ६० स्वास्थ्यकर्मी र नौ सय ६० स्वयम्सेवक परिचालन गरिएको उनले जानकारी दिए। 

यसअघि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइसकिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.