नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने भएको छ । भारतीय प्रहरीले प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थल तोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ व्यवस्थाअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ ।मतदाता नामावली तथा निर्वाचन व्यवस्थापनमा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर प्रदर्शन भइरहेका बेला प्रहरीले यस्तो निर्णय गरेको हो ।
भारतको संसद् भवन तथा प्रमुख सङ्घीय सरकारी कार्यालय नजिकै रहेको जन्तर मन्तर लामो समयदेखि राजनीतिक तथा सामाजिक मुद्दामा विरोध प्रदर्शन गर्ने प्रमुख स्थलका रूपमा परिचित थियो । विभिन्न माग राख्दै नागरिक तथा राजनीतिक समूहले यहाँ प्रदर्शन गर्दै आएका थिए ।
रणनीतिक स्थानमा अवस्थित जन्तर मन्तर राजनीतिक तथा सामाजिक विषयमा असहमति जनाउने र सरकारको ध्यानाकर्षण गराउने प्रमुख गन्तव्यका रूपमा रहँदै आएको थियो ।
