स्क्रब टाइफसबाट ११ हजार ४० र डेंगुबाट ६ हजार १९२ जना सङ्क्रमित भएको विवरण ।
डेंगुबाट तीन जना र जापानिज इन्सेफ्लाइटिसबाट २८ जनाको मृत्यु ।
स्क्रब टाइफस ७४ जिल्लामा फैलिएको उल्लेख ।
जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामीमध्ये ८७ प्रतिशतले खोप नलगाएको विवरण ।
रोग नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहको बजेट, खोप, जनचेतना र सरसफाइमा जोड ।
काठमाडौँ, ११ कात्तिक । नेपालमा कीटजन्य रोगको जोखिम बढ्दै गएको छ । बजेट अभाव, जनचेतनाको कमी र व्यक्तिगत सतर्कताको अभावका कारण स्क्रब टाइफस, डेंगु तथा जापानिज इन्सेफ्लाइटिसजस्ता रोगको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार हालसम्म देशभर ११ हजार ४० जनामा स्क्रब टाइफस र ६ हजार १९२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगुका कारण तीन जनाको मृत्यु भएको छ भने जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट २८ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।
डेंगु, औलो, कालाजार, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र चिकनगुनियालगायत रोग कीटजन्य रोगअन्तर्गत पर्छन् । जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण, पानी जम्ने अवस्था र कीरा तथा लामखुट्टेको बासस्थान विस्तार हुँदा यस्ता रोगको जोखिम बढिरहेको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जुनोटिक तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. अमृत पोखरेलले जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण र जनचेतनाको कमीले रोगको प्रकोप बढाउन भूमिका खेलेको बताउनुभएको छ । उहाँले रोगका लक्षण देखिएपछि हेलचेक्र्याइँ नगर्न र जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो
महाशाखाको विवरणअनुसार स्क्रब टाइफस देशका ७४ जिल्लामा फैलिएको छ । प्रदेशगत विवरणमा लुम्बिनीमा तीन हजार ६६, सुदूरपश्चिममा दुई हजार ११३ र गण्डकीमा दुई हजार ४१ जना सङ्क्रमित रहेको उल्लेख छ । जिल्लागत रूपमा दाङमा ६५८, स्याङ्जामा ५६५ र सङ्खुवासभामा ५०५ जनामा सङ्क्रमण देखिएको छ ।
जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको विवरणमा उल्लेख छ । झाडी, घाँस, खेतबारी तथा जङ्गल क्षेत्रमा पाइने सङ्क्रमित किर्नाजस्ता सूक्ष्म जीवको टोकाइबाट यो रोग सर्न सक्छ ।
अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने र शरीरमा रातो दाग वा घाउ देखिने यस रोगका सम्भावित लक्षण हुन् । यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकहरूले सुझाव दिएका छन् । झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने र घरवरपरको झारपात व्यवस्थापन गर्ने जस्ता सावधानीले जोखिम घटाउन मद्दत गर्छ ।
गण्डकी र बागलुङमा डेंगुको बढी प्रभाव
महाशाखाका अनुसार हालसम्म नेपालमा छ हजार १९२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । प्रदेशगत विवरणअनुसार गण्डकीमा दुई हजार ६९७, कोशीमा ९८५ र बागमतीमा ८८६ जना सङ्क्रमित भएका छन् ।
जिल्लागत रूपमा बागलुङमा सबैभन्दा धेरै एक हजार ५२२ जनामा सङ्क्रमण देखिएको छ । कास्कीमा ४४१ र काठमाडौँमा ३१३ जना सङ्क्रमित भएको विवरणमा उल्लेख छ ।
डेंगु सङ्क्रमण भएका व्यक्तिमा अत्यधिक पेट दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, गिजा वा नाकबाट रगत बग्ने तथा असाध्यै थकान महसुस हुनेजस्ता गम्भीर लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकहरूले बताएका छन् । लामखुट्टेको टोकाइबाट बच्न र घरवरपर पानी जम्न नदिन पनि उनीहरूले सुझाव दिएका छन् ।
जापानिज इन्सेफ्लाइटिसबाट २८ जनाको मृत्यु
परिवार कल्याण महाशाखाको प्रतिवेदनअनुसार सन् २०२६ अक्टोबर १ सम्म सातै प्रदेशका ३७ जिल्लाका ९० स्थानीय तहमा १३१ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ । यस रोगको सङ्क्रमणबाट २८ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सङ्क्रमितमध्ये ८७ प्रतिशतले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएका थिएनन् । मृत्यु भएका सबै व्यक्ति खोपबाट वञ्चित रहेको विवरणमा उल्लेख छ । सङ्क्रमणका ७९ प्रतिशत घटना तराईका जिल्लामा देखिएका छन् ।
सङ्क्रमितमध्ये ६७ प्रतिशत १५ वर्षभन्दा माथिका व्यक्ति रहेको र ५५ प्रतिशत कृषि पेसामा आबद्ध रहेको प्रतिवेदनले देखाएको छ । जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको लामखुट्टेबाट सर्ने रोग हो । धानखेत र सुँगुर फार्मनजिक बसोबास गर्नेहरू जोखिममा पर्न सक्ने भएकाले सरसफाइ र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आवश्यक छ ।
स्वास्थ्य मन्त्रालयले नियमित खोप कार्यक्रमअन्तर्गत १२ महिना पुगेका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउन जोड दिएको छ । छुटेका बालबालिकालाई पाँच वर्षको उमेरसम्म खोप लगाउन सकिने व्यवस्था रहेको जनाइएको छ ।
रोकथाममा सबै तहका सरकारको भूमिका आवश्यक
स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य सेवा प्रशासक गोकर्ण दाहालले कीटजन्य रोगको रोकथामका लागि सङ्घीय सरकारको मात्रै भर पर्न नहुने बताउनुभएको छ । प्रदेश र स्थानीय सरकारले पनि पर्याप्त बजेट छुट्याएर रोकथाम, नियन्त्रण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
रोग निवारणको लक्ष्य लिइएका कार्यक्रमको दायित्व सङ्घीय सरकारले पूरा गर्नुपर्ने भए पनि स्थानीय तहको भूमिका पनि महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । बजेट, जनचेतना र नियन्त्रण संयन्त्रमा देखिएका कमजोरी सुधार गर्दै रोगको समयमै पहिचान, उपचार, खोप र लामखुट्टे तथा किर्नाको जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।
