भक्तपुर, ११ कात्तिक । तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्ने र माला गाँस्ने चटारो बढेको छ । दाजुभाइको गलामा सजिने मखमली माला तयार गर्न किसानहरू बिहानैदेखि बारीमा व्यस्त छन् । तर, यस वर्ष अपेक्षाअनुसार व्यापार नहुँदा किसानहरू निराश बनेका छन् ।
काठमाडौँ उपत्यकामा खपत हुने मखमली फूल उत्पादन हुने प्रमुख क्षेत्रमध्ये गुण्डु पनि एक हो । यहाँका किसान तिहारलाई लक्षित गरी महिनौँदेखि मखमली फूलको खेती र माला तयार गर्ने काममा जुट्दै आएका छन् ।
किसानहरू बिहान घाम उदाएसँगै फूल टिप्न बारी पुग्छन् । बिहान टिपिएका फूल दिउँसो माला गाँस्न प्रयोग गरिन्छन् । घाम चर्किएपछि फूल टिप्न उपयुक्त नहुने भएकाले बिहानै फूल टिप्ने गरेको किसानहरू बताउँछन् ।
गुण्डुमा मखमलीको खेती जेठ महिनादेखि सुरु हुन्छ । भदौदेखि कात्तिकसम्म फूल फुल्ने र टिप्न योग्य हुने भएकाले यही समय किसानका लागि मुख्य उत्पादनको मौसम हो । किसानका अनुसार एक रोपनी जग्गामा मखमली खेती गर्दा एक सिजनमा करिब एक लाख रुपैयाँसम्म आम्दानी हुन सक्छ ।
तर, यस वर्ष फूल टिप्ने र माला गाँस्ने चटारो बढे पनि व्यापार भने अपेक्षाअनुसार हुन सकेको छैन । विगतका वर्षमा प्रतिमाला ३५ देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेकोमा यस वर्ष बजारमा माग र बिक्री कमजोर भएको किसानहरूको भनाइ छ ।
अरूको जग्गा भाडामा लिएर खेती गर्ने किसानका लागि उत्पादन लागत झन् चुनौतीपूर्ण बनेको छ । फूल लगाउने, गोडमेल गर्ने, टिप्ने र माला गाँस्ने काममा लाग्ने श्रम तथा खर्चअनुसार मूल्य नपाउँदा खेतीबाट पर्याप्त नाफा कमाउन कठिन भएको उनीहरूको गुनासो छ ।
यस वर्ष देशमा परेको शोकका कारण पनि फूलको व्यापार प्रभावित भएको किसानहरूको अनुभव छ । तिहारमा मखमली फूलको माला दाजुभाइको दीर्घायु, स्नेह र दिदीबहिनीबीचको आत्मीयताको प्रतीकका रूपमा प्रयोग गरिन्छ ।
तिहारको सांस्कृतिक महत्त्वसँग जोडिएको मखमली फूल उत्पादन गर्न किसानहरूले महिनौँसम्म मेहनत गर्छन् । तर, उत्पादनको मुख्य समयमा उचित मूल्य र बजारको सुनिश्चितता नहुँदा गुण्डुका किसानको व्यस्ततासँगै चिन्ता पनि बढेको छ ।
