पोखरा, ४ जेठ । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले लटरम्म फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका हुन्।
उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाएका थिए। अहिले उनको बारीबाट औसतमा दैनिक २०० केजी तरबुजा बिक्री भइरहेको छ। प्रतिकेजी ६० रुपैयाँका दरले दैनिक १२ हजार रुपैयाँको कारोबार भइरहेको बरालले बताए। यस वर्ष १५ लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको लक्ष्य छ। ‘तरबुजाको बजारका लागि चिन्ता लिनुपर्दैन, व्यवसायीहरू बारीमै लिन आइपुग्नुहुन्छ,’ उनले भने।
पहिलो वर्ष परीक्षणका रूपमा दुई रोपनीमा लगाएको तरबुजाले राम्रो उत्पादन दिएपछि खेती विस्तार गरिएको उनले जानकारी दिए। वर्षमा एक बाली धानखेती मात्र हुने र बाँकी समयमा बाँझै रहने खेतमा छोटो समयमै राम्रो आम्दानी लिन सकिने नगदे बालीका रूपमा तरबुजाखेती रोजेको उनको भनाइ छ।
सोही स्थानमा अर्का किसान भरतबहादुर पराजुलीले पनि ११ रोपनी जग्गामा तरबुजाखेती गरेका छन्। फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन्। ‘यस वर्ष तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने विश्वास छ, बारीमा काँक्रो र सिमी लगायतका तरकारी पनि उत्पादन भइरहेको छ,’ पराजुलीले भने।
उनका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बीउ र ‘मल्चिङ’ प्लास्टिक ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ। बिरुवा फस्टाउँदै गर्दा चैत १७ गते र फूल खेल्दै गर्दा वैशाख १० गते परेको असिनासहितको पानीले खेतीमा केही क्षति गरेको उनले सुनाए। ‘अहिले बाँदरले खाने र मानिसले चोरी गरेर लैजाने समस्या पनि थपिएको छ,’ उनले भने। तरबुजाखेतीका लागि बलौटे माटो र बढी तापक्रम आवश्यक पर्ने पराजुलीको अनुभव छ।
पोखरा महानगरपालिका–१३ का अध्यक्ष किरण बरालका अनुसार दुई वर्षअघि माटो परीक्षण गरी सुरु गरिएको तरबुजाखेतीमा यतिबेला युवाहरू पनि आकर्षित भएका छन्। यस क्षेत्रमा अघिल्लो वर्ष एक करोड ५० लाख रुपैयाँको तरबुजा उत्पादन भएको थियो। यस वर्ष भने असिना र पानीका कारण क्षति पुगेकाले उत्पादनमा केही कमी आउने अध्यक्ष बरालले बताए। यस क्षेत्रमा अहिले २५ जना किसान व्यावसायिक रूपमा तरबुजाखेतीमा सक्रिय छन्।
पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार महाशाखाले कृषकलाई कृषिप्रति प्रेरित गर्नका लागि विभिन्न सहुलियत प्रदान गर्दै आएको छ। तरबुजाखेतीका लागि बीउ, मल्चिङ प्लास्टिक, असिना छेक्ने जाली र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान प्रदान गरिएको कडरियाले जानकारी दिए।
दोस्रो तरबुजा मेला
तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यही जेठ ५ गते पोखरा महानगरपालिका–१३ को वडा कार्यालय परिसरमा ‘तरबुजा मेला’ आयोजना गर्न लागिएको छ। मेलामा उत्कृष्ट किसानलाई सम्मान गरिने कृषि सञ्जाल पोखरा–१३ का अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
मेलाको सम्पूर्ण तयारी पूरा भएको र मेलामा विभिन्न प्रतियोगिताहरू समेत गरिने अधिकारीले बताए। गर्मी बढेसँगै पोखरा बजारमा पर्यटकीय चाप बढेको र यसले तरबुजाको माग पनि उच्च बनाएको छ। रासस
