काठमाडौं , ९ माघ । ‘शान्ति , सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आज आफ्नो २५ वर्षे गौरवपूर्ण यात्रा पूरा गरेको छ ।
विसं २०५७ माघ ९ गते तत्कालीन विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम राख्दै जनताको जीवन , धन र स्वतन्त्रताको रक्षा गर्न सशस्त्र प्रहरी बल विधिवत रूपमा स्थापना भएको थियो । तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठन गरिएको ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल-२०५६’ ले दिएको सुझाव अनुसार राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश , २०५७’ जारी भएसँगै बलको गठन भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी मुख्यालय , हलचोकमा रजत महोत्सव विशेष समारोह आयोजना गरिएको छ । सुरुवातमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा ल्याइएको थियो । स्थापनापश्चात प्रधान कार्यालय महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राखिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षकमा कृष्णमोहन श्रेष्ठ नियुक्त भएका थिए । संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठले प्रातकालीन भ्रमणको क्रममा २०५९ माघ १२ गते गोली प्रहारबाट वीरगति प्राप्त गरेका थिए । उनीसँगै धर्मपत्नी र सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले समेत साहसपूर्वक शहादत प्राप्त गरेका थिए ।
तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई देशका सशस्त्र संघर्ष , विद्रोह तथा आतङ्ककारी गतिविधि नियन्त्रण गर्न १३ वटा कार्यादेश दिइएको थियो । त्यसपछि विभिन्न समयमा राजस्व , भन्सार , औद्योगिक र रेल्वे सुरक्षालगायत अन्य जिम्मेवारीहरू सुम्पिएको छ । यो २५ वर्षे यात्रामा सशस्त्र प्रहरी बलले राज्यप्रदत्त कार्यादेश प्रभावकारी रूपमा सम्पादन गर्दै सङ्गठनको संरचना , तालिम , जनशक्ति विकास र फौजी अनुशासनमा विशेष ध्यान दिँदै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
हाल सशस्त्र प्रहरी सीमा सुरक्षा , आन्तरिक सुरक्षा , राजस्व सहयोग र विपद् व्यवस्थापनमा भरपर्दो सङ्गठनका रूपमा स्थापित भएको छ । सीमा सुरक्षा र विपद् व्यवस्थापन उच्च प्राथमिकतामा रहेको छ । विसं २०६१ मङ्सिर १ गते तत्कालीन शाही नेपाली सेनाको सट्टा प्रमुख भन्सार नाकाहरूको सुरक्षा सशस्त्र प्रहरीले सम्हालेको थियो । विसं २०६३ फागुन ८ देखि डेडिकेटेड रूपमा सीमा सुरक्षा जिम्मेवारी पाएको छ ।
सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण , ४५ वटा सीमा सुरक्षा कार्यालय र २१५ वटा बिओपी मार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दै आएको छ । साथै राजस्व सङ्कलनमा सहयोग पुर्याउँदै आएको सहप्रवक्ता थापाले जानकारी दिए ।अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत बाटोघाटो सरसफाइ , अन्य विकास निर्माण , सचेतनामूलक कक्षाहरू , स्वास्थ्य शिविर र सीमावासी जनतामा सीप तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।
सशस्त्र प्रहरी विपद् व्यवस्थापनमा अब्बल सुरक्षा फौजका रूपमा स्थापित भएको छ । दक्ष जनशक्ति उत्पादन गर्न २०६८ मङ्सिर २२ मा चितवन कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालय र मनाङ पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिएको थियो ।

