भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अरुण तेस्रोको काम ठप्प

अरुण तेस्रोको काम ठप्प

सङ्खुवासभा । सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम सञ्चालन गर्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

बुधबार बिहान साढे ८ बजे सुरुङभित्र बारुद राख्ने गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका थिए । विद्युत् गृह निर्माणको जिम्मेवारी पाएको पटेल इञ्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका थिए ।

शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदारहरु आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताउनुभयो । अन्त्यमा आयोजनाले रु ३० लाख दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामले बताउनुभयो ।

मृत्यु भएका मजदूरको शव परिवारले जिम्मा लिए पनि विद्युत् गृहको निर्माण कार्य शुरु हुन सकेको छैन । काम गर्ने सहज वातावरण नभएको भन्दै सहज परिस्थिति नभएसम्म काम शुरु गर्न नसक्ने भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन) प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताउनुभयो । नेपाल सरकारले सुरक्षाको प्रत्याभूति गराए मात्र आयोजनाको काम शुरु गर्न सक्ने उहाँले जानकारी दिनुभयो । जुनसुकै घटनामा क्षतिपूर्तिका नाममा ठूलो रकमको माग गर्दै आयोजनामा अवरोेध गर्ने गरेकाले काम गर्न असहज भएको उहाँको भनाइ छ । धिमानले भन्नुभयो, “परियोजना विकास सम्झौता पिडिएमा उल्लेख भएभन्दा बाहिरको काम गर्न हामी सक्दैनौँ ।”

कूल रु एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो जलविद्युत्को निर्माणको काम एसजेभिएनले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ । विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन् ।

 


Thali Mobile Pvt.Ltd.