म्याग्दी । आठ दिनदेखि बन्द रहेको म्याग्दीको बेनी–दरबाङ सडक अझै खुल्न सकेको छैन । गएको असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।तातोपानीमा पहिरोका कारण सडक बन्द हुँदा गाडी चल्न सकेका छैनन् । यसले पश्चिम म्याग्दीका नागरिकलाई सास्ती भएको छ । सदरमुकाम बेनीबाट दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव भएको छ ।
गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएकाको किसानले गुनासो गरेका छन् । सडक डिभिजन कार्यालय, यातायात व्यवसायीले मेशिन र जनशक्ति परिचालन गरेर पहिरो पन्छाउने प्रयास गरे पनि पहिरो खस्ने क्रम नरोकिएको तातोपानीका व्यवसायी कुमार केसीले बताए । रासस

